Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु

बंगलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु


ढाका, असार १६
बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ । उनको कोरोनाकै कारण स्थानीय समयअनुसार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।

उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरिएको थियो । अवस्थामा सुधार नआएपछि उनलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए । बंगलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने एक हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

डुंगा दुर्घटना २३ को मृत्यु : यसैबीच, बंगलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् । दुर्घटनामा परेको डुंगामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताएका छन् ।

भारतमा एकै दिनमा १९ हजार चार सयभन्दा बढी कोरोना भाइरस संक्रमित : भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल संक्रमितको संख्या ५ लाख ४८ हजार ३ सय १८ पुगेको छ  । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय ५९ जना संक्रमित भएका छन् । भारतमा गएको २४ घण्टामा ३ सय ८० व्यक्तिको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १६ हजार ५ सय ७ पुगेको छ ।

देशभरी अहिले २ लाख १० हजार १ सय २० जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख २१ हजार ७ सय २३ पुगेको छ । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म १ लाख ६४ हजार ६ सय २६ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ८३ हजार ७७ जना संक्रमित भएका मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया