Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएयरबसका १५ हजार कर्मचारीको रोजगारी गुम्दै

एयरबसका १५ हजार कर्मचारीको रोजगारी गुम्दै


लन्डन, असार १८
विमान निर्माता युरोपेली कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने योजना अघि सारेको छ । बीबीसीका अनुसार कोरोना संकटबाट पर्ने असर न्यूनीकरण गर्न रोजगारी कटौतीको योजना अघि सारिएको हो । विशेषगरी बेलायतमा १ हजार ७ सय र जर्मनी, स्पेन तथा अन्यत्र गरी उक्त संख्यामा रोजगारी कटौती हुनेछ ।

द युनाइट युनियनले भने कम्पनीको कदमको विरोध गरेको छ। एयरबसले विश्वभर १ लाख ३४ हजारलाई रोजगारी दिएको छ । कम्पनीले बेलायतमा व्यावसायिक एयरक्राफ्ट डिभिजनतर्फका रोजगारी कटौती गर्ने छ । बेलायतको ब्रोउटन र ब्राइस्टोल क्षेत्रका कर्मचारीको रोजगारी गुम्ने देखिएको छ । हप्ताको अन्त्यतिर युनियनहरुसँगको कुराकानीपछि मात्रै यसबारे थप कुरा सार्वजनिक हुने बताइएको छ ।

यद्यपि युनाइटले १ हजार १ सय १६ उत्पादनतर्फका र ६ सय ११ कार्यालयीय रोजगारी कटौती हुनसक्ने आँकलन गरेको छ । उक्त संख्यामा कटौती भए एयरबसको १५ प्रतिशत बेलायती कार्यशक्ति गुम्नेछ । रोजगारी कटौतीको योजना कम्पनीले मंगलबार सार्वजनिक गरेको थियो । गत केही महिनायता कम्पनीको उत्पादन ४० प्रतिशतले घटिसकेको छ । सन् २०२३ सम्म कोरोना संकटअघिकै अवस्थामा उत्पादन नहुने आँकलन गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी गलाउमे फाउरीले कम्पनीले अहिले यसअघि कहिल्यै नभोगेको संकटको सामना गरिरहेको बताउँदै आवश्यक कदम चालिने उल्लेख गरे । यसैबीच, इजी जेटले पनि बेलायती बेसमा रहेका २ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । रोयटर्सका अनुसार एयर फ्रान्स/केएलएमले पनि ६५ सय रोजगारी कटौतीको तयारी गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया