Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा महंगीले लक्ष्यको सीमा नाघ्यो

बंगलादेशमा महंगीले लक्ष्यको सीमा नाघ्यो


ढाका, असार २४
भर्खरै सकिएको आर्थिक वर्षमा बंगलादेशमा महंगीले सरकारी लक्ष्यको सीमा नाघेको छ । सरकारले राखेको ५.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य जित्ने क्रममा महंगी ५.६५ प्रतिशत पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । खासगरी विश्व महामारीले आपूर्ति प्रणाली ध्वस्त पारेकाले त्यसको असर परेको बताइएको छ ।

आर्थिक वर्ष २०१९/०२० को औसत मुद्रास्फीति अघिल्लो आवको ५.४८ प्रतिशतको तुलनामा १७ आधार विन्दुमा उच्च रहेको सोमबार ब्युरो अफ स्टाटिस्टिक्सले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यसका बाबजुद यो दर गत दशकको तुलनामा तेस्रो न्यून मुद्रास्फीति दर हो । जुन महिनामा सबै क्षेत्रको महंगी ५० आधार विन्दुमा बढेर ६.०२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना ५.५२ प्रतिशत मात्रै रहेको थियो । खाद्य क्षेत्रमा आएको महंगीको प्रभाव यसमा देखिएको बताइएको छ । जुनमा खाद्य क्षेत्रको महंगी ६.५४ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.१४ प्रतिशतले बढी हो ।

बंगलादेशी योजनामन्त्री एमए मेननले तथ्यांक सार्वजनिक गर्दै बाढी र प्राकृतिक विपत्तिलाई महंगी बढ्नुको कारण भनेका छन् । यी कुराहरुमा सुधार आए महंगी घट्न सुरु हुने उनको दाबी छ । यता गैरखाद्य क्षेत्रको महंगी भने ४९ आधार विन्दुमा घटेर गत महिना ५.२२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ५.७१ प्रतिशत रहेको थियो । ग्रामीण क्षेत्रको महंगी बढेर ६.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जुन महिनामा ६४ आधार विन्दुमा यस्तो महंगी ५.३८ प्रतिशत थियो । खाद्य महंगी ५.५८ प्रतिशतबाट बढेर ६.४७ प्रतिशत पुग्दा गैरखाद्य क्षेत्रको महंगी १७ आधार विन्दुमा बढेर ५.१८ प्रतिशत पुगेको बताइएको छ ।

त्यस्तै सहरी क्षेत्रको महंगी गत महिना २५ आधार विन्दुमा ६.०३ प्रतिशत रहेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा धेरै हो । जुन महिनामा मात्रै खाद्य महंगी ५.०१ प्रतिशतबाट बढेर ६.७२ प्रतिशत पुगेको छ भने गैरखाद्य महंगी ६.६४ प्रतिशतबाट घटेर ५.२७ प्रतिशतमा पुगेको छ । खासगरी चामल, अण्डा, ब्रोइलर कुखुरा, फलफूल, तरकारीलगायतको मूल्य जुन महिनामा मेमा भन्दा बढेको बीबीएसले जनाएको छ । बंगलादेशले नयाँ आर्थिक वर्षको मुद्रास्फीति लक्ष्य ५.४ प्रतिशत तोकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया