Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचाइना गेजुवाले पाकिस्तानमा जलविद्युत् परियोजना बनाउने

चाइना गेजुवाले पाकिस्तानमा जलविद्युत् परियोजना बनाउने


इस्लामाबाद, असार २४
चीन र पाकिस्तानबीच डेढ अर्ब अमेरिकी डलरको जलविद्युत् परियोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । चीनको चाइना गेजुवाले पाकिस्तानको झेलुम नदीमा ७ सय मेगावाटको जलविद्युत् परियोजना निर्माण गर्ने सम्झौता गरेको हो । पाकिस्तानी मिडियाका अनुसार प्रधानमन्त्री इमरान खानले चाइना पाकिस्तान आर्थिक करिडोर (सीईपीसी)लाई पाकिस्तानको ‘खेल परिवर्तन’को संज्ञा दिएका छन् । यसले पाकिस्तानलाई समृद्ध र उन्नत बनाउने दाबी गरेका छन् ।

सोमबार पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा चीनको चाइना गेजुबासँगको हस्ताक्षर कार्यक्रममा उपस्थित हुँदै प्रधानमन्त्री खानले यो परियोजनाले पाकिस्तानलाई समृद्धिको उचाइमा पु-याउने बताए । दुई देशबीच आजाद पाटन जलविद्युत् परियोजना निर्माणको सम्झौता भएको हो । उदाउँदो आर्थिक महाशक्ति चीनबाट पाकिस्तानले सिक्नसक्ने बताउँदै उनले सीईपीसी मातहत रहेर परियोजना निर्माण हुनलागेकोमा खुसी व्यक्त गरे ।

चीनले विगत ३० वर्षमा ठूलो प्रगति हासिल गरेकाले त्यो पाकिस्तानका लागि पाठ हुने बताए । सीईपीसी सडक यातायातमा केन्द्रित करिडोर भए पनि जलविद्युत् परियोजना समेत यसमा जोडिएको उनले बताए । सोअनुसार ७००.७ मेगावाट क्षमताको उक्त परियोजनामा डेढ अर्ब अमेरिकी डलर लगानी हुनेछ ।

यो परियोजना झेलुम नदीको हो भने सन् २०२६ सम्म निर्माणसम्पन्न हुने बताइएको छ । दुई देशले सहकार्यबाट फाइदा लिनसक्ने आशा प्रधानमन्त्री खानले व्यक्त गरेको डन अनलाइनले जनाएको छ । खानले यो परियोजना स्वच्छ ऊर्जामा आधारित भएको बताए । यसले मानिसहरुलाई भार नपार्ने उनको दाबी छ ।

उनले यसअघिका सरकारको समेत आलोचना गर्दै ती परियोजनाजस्तो यो परियोजना खर्चालु नहुने दाबी गरे । प्रधानमन्त्री खानका अनुसार गत १० दिनमा ४ अर्ब अमेरिकी डलर लगानी भित्र्याउने गरी १८ सय मेगावाटका न्यून लागतका परियोजनामा हस्ताक्षर भइसकेको छ । यी परियोजनाले ८ हजार स्थानीयलाई रोजगारी समेत दिने उनको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया