Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग


वासिङटन डीसी, असार २९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिँदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाएका हुन् ।

उनले यसअघि आफूले मास्क नलगाउने बताउनु भएको थियो भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए । गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्विकार गर्दै र बेवास्ता गर्दै आएका थिए । तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उहाँले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनी शनिबार हेलिकोप्टरमार्फत गएका थिए । मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उनले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए । उनी घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर रहेको सो अस्पताल गएका हुन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १ लाख ३५ हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया