ट्विटर -याकिङ : विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित
सनफ्रान्सिस्को, साउन २
विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्विटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्विटरका अनुसार ह्याकरहरुले ट्विटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए । साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी ट्विट गरिएको थियो ।
ट्विटरले भनेको छ, ‘केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह्याक गरी ट्विटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो संगठित सामाजिक इन्जिनियरिङ आक्रमण हो भन्ने हामीले विश्वास लिएका छौँ ।’ आक्रमणकारीले उच्चपदस्थ र सामाजिक रुपमा सुपरिचित व्यक्तिका अकाउन्ट ह्याक गरेर पहुँच बनाउन खोजेको ट्विटरको भनाइ छ । ह्याकरले अरु के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्नेबारे हामी खोजी गरिरहेका छौं, ट्विटरले भनेको छ ।
ह्याक गरिएका व्यक्तिका अकाउन्टबाट बिट्क्वाइनको कारोबार गर्दा दोब्बर फाइदा पुग्ने जस्ता सन्देशहरु प्रवाह भएका थिए । ३० मिनेटभित्र १ हजार डलरको एउटा बिट्क्वाइन खरिद गरे दोब्बर रकम पाइने भन्दै अरु मानिसलाई इमेल समेत पठाइएका थिए । ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले एक ट्विट गर्दै ट्विटरमा यो दिन निकै कठिनाइपूर्ण रहेको बताएका छन् । उनले यस घटनाका बारेमा तथ्यहरुको जाँच गरिसकेपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने पनि जानकारी गराएका छन् ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी अभियानले ह्याक भएको बाइडेनको अकाउन्ट बन्द गरेको जनाएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह्याक गरिएको छैन । उहाँका करिब आठ करोड ३० लाख फलोअर्स छन् । अमेरिकी सञ्चार माध्यम भाइसले ट्विटरका कर्मचारीकै लापरवाहीका कारण ह्याकरहरु ट्विटरको आन्तरिक प्रणालीमा प्रवेश गरेको बताएको छ । ह्याकिङमा संलग्न रहेको दाबी गर्ने एक व्यक्तिले आफूहरुले ट्विटरका कर्मचारीलाई रकम दिएको बताएका छन् । साइबर–सुरक्षासँग सम्बन्धित कार्य गर्ने सोसलप्रुफसेक्युरिटीले पनि ट्विटरका कर्मचारीको प्रशासनिक पहुँचलाई ह्याकरले प्रयोग गरेको बताएको छ ।
यसैबीच, बिट–टोरेन्टका कार्यकारी प्रमुख जस्टिन सनलाई ट्विटरका ह्याकरलाई कानुनी कठघरामा ल्याए १० लाख अमेरिकी डलर पुरस्कार दिइने प्रस्ताव गरिएको खबर सार्वजनिक भएको छ । ट्विटरमाथि विगतमा पनि ह्याकरहरुले आक्रमणको प्रयास गरेका थिए ।
मार्च २०१७ मा एम्नेस्टी इन्टरनेसनल, फ्रान्सेली अर्थ मन्त्रालय र बिबिसीको उत्तर अमेरिकी सेवाका अकाउन्टहरु ह्याक गरिएका थिए । यी ह्याकरहरु टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानका समर्थक रहेको विश्वास गरिएको थियो । गत अगस्टमा पनि ट्विटरका संस्थापक डोर्सेको निजी अकाउन्टबाट उनको जानकारी बेगर नै गलत एवं भ्रामक सन्देशहरु शृंखलाबद्ध रुपमा प्रवाहित भएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- के शिक्षामन्त्रीले चाहेर मात्रै दलमा आबद्ध शिक्षकहरूलाई बर्खास्त गर्न सम्भव छ?
- इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ ?
- एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक
- देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया