Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय बजारमा आकाशिदै सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आकाशिदै सुनको मूल्य


काठमाडौं साउन १२
केही दिनयता सुनको मूल्य प्रायः सबै देशमा बढिरहेको छ । भारतलगायत अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिएको हो । त्यस्तै चाँदीको मूल्य पनि उच्च दरमा बढिरहेको छ । विश्वबजारमा गत शुक्रबार सुन १९ सय अमेरिकी डलर प्रतिऔंससम्म पुगेको थियो । यो सन् २०११ पछिकै महंगो हो । यसरी सुन बढ्नुमा अमेरिका र चीनबीचको तनाव र कोरोना महामारीलाई मुख्य कारण मानिएको छ । छिमेकी देश भारतमा सुन प्रति १० ग्रामको ५१ हजार १० भारुमा र चाँदी प्रतिकिलो ६१ हजार भारुको स्तरमा पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो हप्तामात्रै भारतमा सुन ४ प्रतिशतले बढेको छ । शुक्रबार भारतमा शून्य दशमलव ६ प्रतिशतले बढ्दा प्रति १० ग्रामको ५१ हजार १० भारु पुगेको थियो । भारतमा ५१ हजार १ सय ८४ भारुसम्म प्रति १० ग्राम सुनको मूल्य पुगेको बताइएको छ । त्यस्तै भारतमा चाँदी पनि १५ प्रतिशतले बढेर ६१ हजार २ सय २१ भारु प्रतिकिलो मूल्यसम्म यो हप्ता पुगेको थियो । सुनको मूल्य अझै बढ्नसक्ने विश्लेषण गरिएको छ । भारतमा ६३ देखि ६५ हजार भारुसम्म सुनको मूल्य बढ्नसक्ने आँकलन गरिएको छ । सन् २०२० को सुरुतिर भारतमा ३९ हजार भारु प्रति १० ग्राम मूल्य रहेको सुनको भाउ ५१ हजार भारुसम्म पुगिसकेको छ ।

अप्ठ्यारो अवस्थामा सुनको भाउ आकाशिने गरेको छ । सन् १९७९ मा विश्वमा धेरै युद्ध भएको बेला १ सय २० प्रतिशतसम्म बढेको थियो । सन् २०१४ मा सिरिया–अमेरिका तनाव सुरु हुँदै गर्दा पनि आकाशिएको थियो । तर पछि पुरानै अवस्थामा फर्किएको थियो । चीन र अमेरिकाबीच तनावको स्थिति सुरु हुँदा अहिले पनि सुनको भाउले आकाश छुने गरेको छ ।

नेपालमा पनि उच्च कीर्तिमान : यसैबीच, भारतलगायत अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च दरमा बढ्दा नेपालमा पनि त्यसको असर गरेको छ । आइतबार मात्रै सुनको भाउ ५ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँको उच्च कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको मूल्यमा उक्त रुपैया बढेर छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै तेजाबी सुन ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन ९५ हजार ८ सय र तेजाबी सुन ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि प्रतितोला ५ रुपैयाँ महंगो भएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया