Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी अर्थतन्त्र वार्षिक ३२.९ प्रतिशत दरमा खुम्चियो

अमेरिकी अर्थतन्त्र वार्षिक ३२.९ प्रतिशत दरमा खुम्चियो


वासिङटन, साउन १६
अमेरिकी अर्थतन्त्र अहिलेसम्मकै खराब अवस्थामा गुज्रिएको छ । अमेरिकी मिडियाहरुका अनुसार अप्रिल–जुन अवधिमा वार्षिक ३२.९ प्रतिशतको वार्षिक दरमा अमेरिकी अर्थतन्त्रमा संकुचन आएको हो । बिहीबार ब्युरो अफ इकोनोमिक एनालाइसिसले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

कोरोना भाइरस संक्रमण फैलिने क्रममा विश्वमहामारी बनेपछि गरिएको लकडाउनले आर्थिक क्रियाकलाप शून्य हुँदा अमेरिकी अर्थतन्त्रलाई नराम्रो प्रभाव परेको छ । लकडाउनेले अमेरिकी अर्थतन्त्र ११ वर्षयताकै खराब अवस्थामा पुगेको थियो । महामारीअघि अमेरिकी अर्थतन्त्रले अत्यन्त राम्रो लय समातेको थियो । पाँच वर्षयता लय समातेको अर्थतन्त्र केही महिनामै तहसनहस भएको हो । महत्वपूर्ण द्वित्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन घटेको छ । जनवरी र मार्चमा जीडीपी ५ प्रतिशतले घटेको छ ।

यसलाई असामान्य मानिएको सीएनएनले जनाएकाो छ । सार्वजनिक स्वास्थ्य र आर्थिक संकटलाई मिलाउने हो भने नसोचेको क्षति अर्थतन्त्रले व्यहोरेको बताइएको छ । अप्रिलमा २ करोड रोजगारी अमेरिकाले गुमाएको थियो । सो अवधिमा सबै व्यवसाय बन्द भएपछि यस्तो भएको थियो । जुन ८० वर्षयताकै ठूलो रोजगारी गुम्नु भएको बताइएको छ । अहिले अमेरिकीहरु बेरोजगार रहेको भन्दै राज्यले दिएका सुविधाको प्रयोगका लागि लालायित देखिएका छन् ।

केही राज्यहरुले व्यवसाय खोल्न थालेपछि भने अर्थतन्त्रलाई मद्दत मिलिरहेको बताइएको छ । खुलेका व्यवसायमा लाखौँ मानिस काममा फर्किए पनि अझै ठूलो संख्यामा अमेरिकीहरु बेरोजगार बनिरहेका छन् । जुलाईको रोजगारी रिपोर्ट आउनलागेको छ । उक्त रिपोर्टले २३ लाख रोजगारी सिर्जना भएको देखाउनसक्ने सीएनएनले समाचारमा जनाएको छ । त्यसले बेरोजगारी दर १०.३ प्रतिशतमा झार्ने अनुमान छ । अहिले अमेरिकामा उपभोक्ता खर्च दर ३४.६ प्रतिशतले घटेको छ । उपभोक्ता खर्चलाई अर्थतन्त्र हाँक्ने संयन्त्र समेत मानिन्छ । अप्रिल र जुनमा मात्रै जीडीपी साढे ९ प्रतिशतले घटेको छ । यो भनेको १८ खर्ब अमेरिकी डलरबराबरको हो ।

अमेरिकाले सन् १९४७ देखि त्रैमासिक रेकर्ड राख्न सुरु गरेको थियो । सन् १९३२ मा अमेरिकी अर्थतन्त्रमा १२.९ प्रतिशतले संकुचन आएको थियो । सन् १९८० को जुन र अप्रिलबीचमा अमेरिकी अर्थतन्त्रले ८ प्रतिशतको संकुचन सामना गरेको थियो । त्यस्तै सन् १९५८ को पहिलो तीन महिनामा जीडीपी वार्षिक १० प्रतिशत दरमा घटेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया