Techie
अन्तर्राष्ट्रिय

विश्वकै ठूला चार प्रविधि कम्पनीमाथि अमेरिकी सांसदको गम्भीर आरोप

अमेरिका, साउन १६
अमेरिकी सांसदहरुले विश्वकै चर्चित र ठूला चार प्रविधि कम्पनीहरुलाई गम्भीर आरोप लगाएका छन् । कम्पनीका प्रमुखहरुलाई संसदीय समितिमा भर्चुअल रुपमा बोलाएर अमेरिकी सांसदहरुले आफ्ना प्रतिस्पर्धीलाई दबाउन कम्पनीहरुले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

अमेजन, फेसबुक, गुगल र एप्पलका प्रमुखहरुलाई संसदीय समितिमा बोलाएर अमेरिकी सांसदहरुले -याख-याखती पारेको बीबीसीले जनाएको छ । समितिमा सांसदहरुको प्रश्नको सामना गर्दै चारवटै सीईओहरु अमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र फेसबुकका मार्क जकरबर्गले आफ्ना कम्पनीको बचाउ गरेका थिए ।

ठूला प्रविधि कम्पनीमाथि प्रतिस्पर्धीलाई दबाउन शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । सोही कारण अमेरिकी संसदले कडा नियन्त्रण र व्यावसायिक प्रतिस्पर्धाको अनुसन्धान गर्न लागिरहेको छ । डेमोक्रेटिक सांसदहरुले यी कम्पनीको अस्वस्थ प्रतिस्पर्धाको मुद्दा उठाएका थिए भने रिपब्लिकन सांसदहरुले कम्पनीहरुको सूचना व्यवस्थापन र कन्जरभेटिभ समुदायको विचारलाई स्थान नदिएको मुद्दा उठाएका थिए ।

तर चारवटै कम्पनीका प्रमुखहरुले भने आफूहरुले कुनै पनि गैरकानुनी कार्य नगरेको र अमेरिकी मूल्य र मान्यतालाई प्राथमिकतामा राखेको दाबी गरेका थिए। सो क्रममा सांसदहरुले साना कम्पनीको विषयवस्तु गुगलले चोर्न गरेको आरोप लगाए । त्यस्तै अमेजनमाथि बिक्रीकर्तामाथिको व्यवहार, फेसबुकमाथि इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको प्राप्ति तथा एप्पलमाथि एपस्टोरलाई लिएर सांसदहरुले प्रश्न सोधेका थिए। डेमोक्रेटिक सांसद डेभिड सिसिलाइनले अमेजनमाथि ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’को आरोप लगाएका थिए । उसले खासगरी अमेजनले बिक्रीकर्ताबीच नै अस्वस्थ प्रतिस्पर्धा गराएको उनको आरोप छ । उसले व्यवसायमा दोहोरो भूमिका खेलिरहेकोमा सिसिलाइनले चर्को आलोचना गरेका थिए ।

रिपब्लिकन सांसद जिम जोर्डनले भने प्रविधि कम्पनीहरुले राजनीतिक पूर्वाग्रह राखेर कन्जरभेटिभ विचारको दमन गरिरहेको आरोप लगाए । तर चारवटै कम्पनीले भने साना व्यवसायलाई सहयोग गरिरहेको दाबी गरेका थिए । युरोपमा पनि अमेजनमाथि अनुसन्धान भइरहेको छ भने अन्यत्र पनि यी कम्पनीहरु विभिन्न कानुनी झमेलामा फस्दै आएका छन् ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस