Techie
अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालमा प्रकाशित हुने समाचारको रकम मिडियालाई दिनुपर्ने

ब्रिसवेन, साउन १८
अस्ट्रेलियाको सरकारले नयाँ आचारसंहिता बनाएर गुगल र फेसबुकजस्ता सामाजिक सञ्जालमा प्रकाशित हुने समाचारको पैसा सम्बन्धित मिडियालाई तिर्नुपर्ने आचारसंहिता ल्याउने भएको छ । समाचारको पैसा तिर्न यी कम्पनीलाई बाध्य पारिने गरी आचारसंहिता आउनलागेको बीबीसीले जनाएको छ । यो वर्ष कोरोनाका कारण धेरै मिडिया आउटलेटले रोजगारी कटौती गरेका छन् भने कतिपय मिडिया नै बन्द भएको अवस्थामा यो आचारसंहिताले केही राहत पुग्ने विश्वास गरिएको छ ।

फेसबुक र गुगलले भने यो योजनाको विरोध गरेका छन् । उनीहरुले अस्ट्रेलियाको न्युज मार्केट नै छोड्ने चेतावनी दिएका छन् । अस्ट्रेलियाको नियामक निकायले यसको आचारसंहिताको मस्यौदा बनाइसकेको छ । यसलाई अस्ट्रेलियन संसदमा पेस गरेर छलफल चलाइने भएको छ ।यसको कार्यान्वयन नगरे यी कम्पनीमाथि लाखौँ डलर जरिवाना गरिने व्यवस्था समेत रहेको बताइएको छ । अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसनले आचारसंहिताको मस्यौदा बनाएको हो ।

यसले मिडिया कम्पनीलाई प्रविधि कम्पनीमा प्रकाशित हुने समाचारहरुबारे छलफल र सहकार्य गर्न अनुमति दिनेछ । यदि यस्तो छलफलमा कुरा नमिले अस्ट्रेलियन कम्युनिकेसन एन्ड मिडिया अथोरिटीले मध्यस्थता समेत गर्न सक्नेछ । जरिवाना रकम १ करोड अस्ट्रेलियन डलरसम्म तोकिएको छ । यदि प्रविधि कम्पनीले उल्लंघन गरे उक्त रकम वा कम्पनीको स्थानीय कारोबारको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ । यो आचारसंहिता संसदमा पेस हुनुअघि लामो परामर्श हुनेछ । यदि यो संसदबाट पास भए प्रविधि कम्पनीहरुले समाचारजन्य विषयवस्तुको सम्बन्धित मिडियालाई पैसा तिर्नुपर्नेछ ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस