Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंक्रमित बढिरहँदा भ्यान्टिलेटर निर्यात गर्न भारतको मञ्जुरी

संक्रमित बढिरहँदा भ्यान्टिलेटर निर्यात गर्न भारतको मञ्जुरी


नयाँ दिल्ली, साउन १८
भारतीय सरकारले देशमा कोरोना भाइरस संक्रमण बढिरहे पनि भ्यान्टिलेटर निर्यात गर्न मञ्जुरी दिएको छ । केन्द्र सरकारका स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले सक्रिय संक्रमित धेरै भए पनि भ्यान्टिलेटरमा निकै कम दरमा रहेको उल्लेख गर्दै भ्यान्टिलेटर निकासी खोलेको बताएका हुन् । भारतीय मिडियाहरुका अनुसार भारतमा अहिले कोरोनाका कारण मृत्यु हुने दर २.१५ प्रतिशत रहेको छ । यसलाई कममै सीमित पार्न सरकारले प्रयास गरिरहेको उनले बताए । जुलाई ३१ सम्म संक्रमितमध्ये शून्य दशमलव २२ प्रतिशत मात्रै बिरामी भ्यान्टिलेटरमा रहेको बताइएको छ ।

स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार निर्यात प्रतिबन्ध फुकुवासँगै अब भ्यान्टिलेटरको विदेशमा बजार खोजी गरिनेछ । भारतमा २० भन्दा धेरै भ्यान्टिलेटर निर्माता रहेका छन् । त्यस्तै अर्का केन्द्रीय मन्त्री पीयूष गोयलले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत भारतमा बनेका भ्यान्टिलेटरले कोभिड १९ महामारीविरुद्ध लड्ने बताए । मृत्युदर घटिरहेकोले भ्यान्टिलेटर निर्यात पुनः खुल्ला गरेको उनको भनाइ छ । यसले रोजगारी र औद्योगिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजारभन्दा बढी संक्रमित :भारतमा कोरोनाभाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएकामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । अधिकारीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ संक्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म संक्रमितहरुको संख्या १६ लाख ९५ हजार ९ सय ९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार कुल संक्रमितमध्ये पाँच लाख ६५ हजार १ सय ३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३ सय ७४ जना संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । तीमध्ये ७ सय ६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिले पनि एक लाख ५० हजार ९ सय ६६ जना संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९ सय ९४ रहेको छ । मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९ सय ८६ जना संक्रमित अवस्थामै रहेका बेला तीन हजार ९ सय ३५ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया