Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविस्फोटनपछि बेइरुतबाट तीन लाख मानिस विस्थापित

विस्फोटनपछि बेइरुतबाट तीन लाख मानिस विस्थापित


बेइरुत, साउन २२
लेबननको राजधानी बेइरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् ।

स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए । लेबननको राजधानी बेइरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।

करिब दुई हजार सात सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । लेबननका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताएका छन् ।

उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाएका छन् । यस विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबननलाई सहयोगको घोषणा पनि गरेका छन् ।
विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । सो विस्फोट निकै टाढासम्म सुुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् । सो विस्फोटपछि धूवाँको ठूलो मुँस्लो उडेको थियो । वरपरको अवस्था क्षतविक्षत देखिएको छ । भौतिक संरचनाहरु ध्वस्त भएका छन् । त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैं विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

लेबननका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताए ।सो विस्फोटप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् । लेबननमा भएको विस्फोटबाट कैयौँ नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

उनले सो घटनालाई एक डरलाग्दो घटना भन्नुभएको छ । ह्वाइट हाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा सम्वाददाताहरुसँग उहाँले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘यो एकदमै डरलाग्दो घटना भएको छ, यसबाट लेबननका कैयौँ नागरिकको ज्यान गएको छ, म लेबनन सरकार र त्यहाँका सबै नागरिकप्रति सान्त्वना दिन चाहन्छु ।’

उनले लेबननको सरकार र त्यहाँका नागरिकहरुसँग अमेरिकाको राम्रो सम्बन्ध रही आएको बताउँदै यस्तो अप्ठ्यारो परेको अवस्थामा लेबनन सरकारलाई आवश्यक सबै खालको सहयोग गर्न अमेरिका सरकार तयार रहेको बताएका छन् । त्यसैगरी अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसस् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले यस्तो अवस्थामा जेजस्तो प्रकारको सहयोग गर्नु परे पनि आफूहरु तयार रहेको जानकारी लेबनन सरकारलाई गराएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया