Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटिकटकलाई प्रतिबन्ध लगाउने ट्रम्पको घोषणाअघि ह्वाइटहाउसमा जे भयो.

टिकटकलाई प्रतिबन्ध लगाउने ट्रम्पको घोषणाअघि ह्वाइटहाउसमा जे भयो.


.
अमेरिका, साउन २६
गत हप्ता अमेरिकाले चिनियाँ द्रुतगतिमा चर्चा कमाइरहेको एप ‘टिकटक’लाई प्रतिबन्ध लगाउने विषयमा राष्ट्रपति ट्रम्पका दुई सल्लाहकारबीच ठूलै विवाद भएको खुलेको छ । राष्ट्रपति ट्रम्पकै अगाडि व्यापार सल्लाहकार पिटर नाभारो र अर्का ट्रेजरी सेक्रेटरी स्टिभन म्नुचिनबीच विवाद भएको अमेरिकी पत्रिका दि वासिङटन पोस्टले जनाएको छ ।

पत्रिकाका अनुसार चिनियाँ स्वामित्वको भिडियो सेयर गर्ने टिकटक अमेरिकी कम्पनीलाई नै बिक्री गर्नुपर्ने विषयमा बाझाबाझ भएको थियो । म्नुचिनले टिकटक राष्ट्रिय सुरक्षाको विषयसँग जोडेर बिक्री गर्ने विषयमा माइक्रोसफ्टका वरिष्ठ अधिकारी र ट्रम्प प्रशासनभित्र नै समर्थन जुटाइरहेका थिए ।

तर नाभारोले त्यसको विरोध गर्दै टिकटकलाई प्रतिबन्ध नै लगाउनुपर्नेमा जोड गरे । उनले म्नुचिनलाई चीनप्रति नरम बनेको आरोप लगाए । त्यसपछि म्नुचिन पछि हटेको स्रोतलाई उद्धृत गरिएको समाचारमा जनाइएको छ । यो विवाद महिनौँ अघिदेखि भित्रभित्रै उम्लिरहेको थियो । लगानीकर्ता, लबिङ गर्ने र कार्यकारीहरुसँग ब्याकरुम छलफल भइरहेको थियो । धेरैजसो स्टेक होल्डरले ट्रम्प प्रशासनमा मुख्य व्यक्तिसँग नजिकको सम्बन्ध राख्न दुवै सल्लाहकारले भरपूर प्रयास गरिरहेको बुझेका थिए ।

तर बितेका केही हप्तामा उनीहरु ट्रम्प नेतृत्वको सरकारले गर्ने व्यावसायिक सम्झौताको अनुमान गर्न नसक्ने अवस्थाबाट जानकार थिए । उक्त विवादमा जसले जित्छ, उसैले अर्बौँ डलरको सम्झौता हुने र कम्पनीको भविष्य निर्धारण हुने र त्यसले प्रविधि व्यवसायको आगामी दिनको आधारलाई तय गर्नेमा ढुक्क थिए । बितेका दुई हप्तामा टिकटक बिक्रीमा ट्रम्प सहमत भएको, फेरि प्रतिबन्ध लगाएको र फेरि अमेरिकी सरकारलाई निश्चित अंश बुझाए अनुमति दिने अवस्थासम्म पुगेको घटना सार्वजनिक भए ।

टिकटक ४५ दिनभित्र नबेचे उसलाई अमेरिकामा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी हुनुअघि यसबारे थुप्रै भित्री छलफल र विवाद भएको खुलासा भएको हो । यसले पछिल्लो समय चर्चा बटुलिरहेको टिकटकलाई धेरै दोधारको अवस्थासम्म पु-याएको थियो । थोरैले मात्र कार्यकारी आदेश आउँदै छ भन्ने जानकारी पाएका थिए । यसले ट्रम्पको आफ्नै व्यावसायिक विगतसम्म फर्काइदिएको गैरनाफामूलक संस्था अमेरिकन एक्सन फोरमका अध्यक्ष डोग्लस होल्ट्ज इएकिनले बताए । यसको दीर्घकालीन असर हुने बताउँछन् संसदीय बजेट कार्यालयका पूर्वनिर्देशक डोग्लस ।

तर ह्वाइटहाउसले भने अमेरिकी पूर्वाधार, सार्वजनिक स्वास्थ्य र सुरक्षा तथा आर्थिक तथा राष्ट्रिय सुरक्षामा पर्नसक्ने साइबरसम्बन्धित खतराहरुबाट अमेरिकीको रक्षा गर्ने प्रयास मात्र गरेको ह्वाइटहाउसका प्रवक्ता जड डिरीले प्रेस विज्ञप्तिमा जनाएका छन् ।

ट्रेजरी डिपार्टमेन्टका प्रवक्ता मोनिका क्रोलेले पनि विज्ञप्तिमा यसबारे कुनै प्रतिक्रिया नदिने बताएकी छिन् । तर उनले उक्त विवादित बैठकमा म्नुचिन सहभागी भएको जनाइन् । यसबारे नाभारोले पनि विज्ञप्ति जारी गर्दै ट्रम्प सधैँ अमेरिकी हित चाहने र त्यसका लागि कुनै पनि मुद्दामा अडिग रहने गरेकोले ट्रम्प प्रशासनको यो नै मुख्य बल भएको बताएका छन् । यस्ता विषयमा हुने वादविवाद ओभल अफिसमै सीमित हुनुपर्ने भन्दै उनले थप नबोल्ने बताए ।

टिकटकलाई प्रविधिमा सफलता हात पार्ने ठूलो कम्पनी मानिन्छ । यो अहिले चिनियाँ स्वामित्वमा रहे पनि मुख्यालय सार्न चाहिरहेको छ । यसको मातृकम्पनी बाइटीडान्स हो । यसका अमेरिकामा मात्रै १० करोड फलोअर छन् । तीमध्ये अधिकांश २५ वर्षमुनिका छन् । यसले चर्चा बटुल्दै गर्दा पछिल्लो समय ठूला लगानीकर्तालाई आकर्षित गरिरहेको छ । प्रविधि कम्पनीको राजधानी मानिने सिलिकन भ्यालीका कम्पनीहरु समेत टिकटकको सफलतामा लोभिएका छन् । त्यसमध्ये सिक्योआ क्यापिटल एक हो ।

सन् २०१४ मा यसको चिनियाँ कम्पनीले टिकटकमा ३ करोड ५० लाख डलर लगानी गरेको थियो । जसमा कम्पनीले पनि ८० करोड डलर बढी मूल्यको सेयर पाएको छ । टिकटकका स्वामित्वकर्ताले सन् २०१७ मा म्युजिकल्ली एपलाई १ अर्ब डलरमा प्राप्ति गरेको थियो । तर त्यसपछि कम्पनी अनुसन्धानको घेरामा पर्दै आएको छ ।

गत वर्ष समरयता कम्पनीविरुद्ध राष्ट्रिय सुरक्षा प्रतिकूल गरेको आरोप लाग्दै आएको छ । बाइटीडान्सको प्राप्तिपछि टिकटकमाथि सरकारी अधिकारीहरु सशंकित हुँदै आएका छन् । त्यसयता अनुसन्धान जारी छ । अमेरिकाको कमिटी अन फरेन इन्भेष्टमेन्ट इन द युनाइटेड स्टेट्स नामको इन्टरएजेन्सी बडीले अनुसन्धान गर्दै आएको छ । टिकटकको मामिलामा उक्त एप अमेरिकामा १७ करोड ५० लाख अमेरिकीभन्दा धेरैले डाउनलोड गरेका छन् ।

अरु एपमा जस्तै संवेदनशील व्यक्तिगत विवरण यसमा हालेका छन् । ती विवरण चिनियाँ सरकारलाई उपलब्ध रहेको अमेरिकी अधिकारीको आशंका छ । यी समाचारसँगै सिक्योआ क्यापिटललाई असर गरेको छ । डग लियोनले टिकटकको पक्षमा ट्रम्प प्रशासनसँग छलफल गर्दै आएका छन् । लियोन दम्पतीले ट्रम्पको पुनर्निर्वाचनलाई सघाउन १ लाख डलर समेत सहयोग गरेका छन् । सोही कारण टिकटकको लागि सहयोग गर्न सकिने डगको आशा छ ।

त्यस्तै यो दम्पतीको म्नुचिन र ट्रम्पका ज्वाइँ जारेद कुशनरसँग पनि राम्रो सम्बन्ध रहेको छ । सिक्योआ कुशनरका दाजु जोशको स्वास्थ्य कम्पनीका सहलगानीकर्ता समेत हुन् । यस्तो अवस्थामा कम्पनी र सरकार दुवैलाई जिताउने गरी टिकटकको खरिदबिक्री गराउने प्रयास भइरहेको बुझिएको छ । योबाहेक अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका सहपाठीलाई समेत टिकटकले लबिङकर्ता बनाएको छ ।

पोम्पेओ चीनका कट्टर आलोचक मानिन्छन् । सार्वजनिक रुपमा टिकटकले अमेरिकी सरकारलाई आफू कुनै खतरा नरहेको देखाउने प्रयास गरिरहेको छ । यो केवल मनोरञ्जन उद्देश्यको एप भएको उसको जिकिर छ । यही कुरा उसले ब्याकडोर च्यानलबाट पनि बुझाउने प्रयास गरिरहेको छ । मे महिनामा केविन मेयर टिकटकका नयाँ सीईओ भएका छन् ।

कम्पनीले आफूलाई चीनबाट अलग्याउने प्रयास गरिरहेको छ । अमेरिकी प्रयोगकर्ताका डाटा अमेरिकामा स्टोर र सिंगापुरमा ब्याकअप गरिएको छ । उसले टिकटकको सफ्टवेयर कोड र अल्गोरिदम बाइटीडान्सबाट अलग्याइसकेको छ । टिकटकसँगको मामिला सुल्झिने तरखर हुँदै गर्दा भारतले एपमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ह्वाइटहाउसले स्वर फेरेको अनुभव कम्पनी र लगानीकर्ताले गर्नथालेका हुन् । त्यसपछि ट्रम्प प्रशासनभित्रका चीनविरोधी स्वरहरु एकाएक चर्किनथाले । त्यसपछि लगानीकर्ताले पनि पूर्वयोजनाभन्दा अर्को योजना बनाए । यतिकैमा माइक्रोसफ्ट जोडियो । सफ्टवेयर कम्पनीलाई टिकटकले सामाजिक सञ्जालमा राम्रै स्थान दिने थियो । अहिले माइक्रोसफ्टले टिकटक किन्ने प्रयास गरिरहेको छ ।

चुनावी मिति नजिकिँदै गर्दा ट्रम्प चीनप्रति कडा नीति अख्तियार गरिरहेका छन् । त्यसलाई नाभारोले उच्च साथ दिएका छन् । ह्वाइटहाउसमा टिकटकको भविष्यबारे विवाद हुँदा ट्रम्प सामुन्नेमा थिए । तर एकाएक ट्रम्पले निश्चित दिन तोकेर अमेरिकी कम्पनीको स्वामित्वमा आउन कार्यकारी आदेश जारी गरेका छन् । माइक्रोसफ्टले अहिले टिकटक किन्ने प्रयासलाई तीव्र पारेको बताइएको छ । दि वासिङटन पोस्टबाट भावानुदित


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया