Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटिकटक किन्न ट्विटर पनि उत्सुक

टिकटक किन्न ट्विटर पनि उत्सुक


अमेरिका, साउन २७
चिनियाँ स्वामित्वकर्ता बाइटीडान्सले टिकटक बेच्ने भएपछि विभिन्न कम्पनीहरुले चासो देखाइरहेका बेला ट्विटर पनि थपिएको छ । बीबीसीका अनुसार भिडियो सेयरिङ एप किन्न ट्विटरले पनि बाइटीडान्ससँग उत्सुक रहेको जानकारी गराएको हो । बाइटीडान्सले कम्पनीको अमेरिकी ब्रान्च बेच्ने बताएपछि माइक्रोसफ्टले यसअघि नै इच्छा जाहेर गरिसकेको छ । बितेका केही हप्ता टिकटकबारे गम्भीर बहस भइरहेका छन् ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुलाई टिकटकसँग व्यवसाय नगर्न ४५ दिनको समय दिएका छन् । सुरक्षा खतराको विषयसँग जोडिएपछि उनले टिकटक कुनै अमेरिकी कम्पनीले उक्त समयमा किने छुट दिने नभए बन्द नै गरिदिने गरी कार्यकारी आदेश नै जारी गरिसकेका छन् । माइक्रोसफ्ट अहिले टिकटक किन्न कस्सिएको छ । तर ट्विटर पनि एकाएक देखापरेको छ । तर उसले टिकटक किन्न सक्ने नसक्ने निश्चित छैन ।

त्यस्तै टिकटकको मूल्य कति भन्ने पनि निश्चित हुन बाँकी छ । यसको दशौँ अर्ब डलर मूल्य हुने अनुमान छ । ट्विटरको बजार पुँजीकरण २९ अर्ब डलरको छ भने माइक्रोसफ्टको १६ खर्ब डलरभन्दा बढी छ । विश्लेषकहरु भने माइक्रोसफ्टलाई भन्दा ट्विटरलाई टिकटक किनेमा अनुसन्धानको दलदलमा फस्नुपर्ने हुनसक्ने बताउँछन् ।

ट्रम्पले गत शुक्रबार टिकटकले ग्राहकको सूचना चिनियाँ सरकारलाई उपलब्ध गराउनसक्ने र त्यसले राष्ट्रिय सुरक्षा खतरा पर्ने निहुँ झिकेर व्यवसाय नगर्न अमेरिकी कम्पनीलाई निर्देशन दिएका थिए । उनले जारी गरेको कार्यकारी आदेशपछि टिकटकले कानुनी प्रतिवाद गर्ने चेतावनी दिएको थियो । अमेरिकाले टिकटकसँगै चिनियाँ म्यासेजिङ एप विच्याटमाथि पनि प्रतिबन्ध लगाएको छ ।

दुई देशबीच तनाव बढ्दै जाँदा पछिल्लो स्थिति देखापरेको हो । यसका बाबजुद ट्रम्प भने माइक्रोसफ्टले टिकटक किने छुट दिन सकिने बताइरहेका छन् । तर कम्पनी बिक्री हुँदा अमेरिकी ट्रेजरी डिपार्टमेन्टलाई पनि केही हिस्सा चाहिने उनले बताएका छन् । उनले यसका लागि सेप्टेम्बर १५ सम्मको समयसीमा दिएका छन् । यो अवधिमा पूर्णरुपमा टिकटक अमेरिकी कम्पनीको स्वामित्वमा आइसक्नुपर्नेछ ।

माइक्रोसफ्टले राष्ट्रपतिको कार्यकारी आदेशको सम्मान गर्दै खरिद कार्य द्रुत रुपमा सकाउने बताइसकेको छ । माइक्रोसफ्टले अमेरिका, अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डको स्वामित्व खरिद गर्ने इच्छा देखाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया