Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपुटिनको दाबी : कोरोनाको खोप बन्यो, प्रयोग गर्न अनुमति

पुटिनको दाबी : कोरोनाको खोप बन्यो, प्रयोग गर्न अनुमति


मस्को, साउन २८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व महामारी कोरोनाविरुद्धको खोप तयार भएको दाबी गरेका छन् । रुसले विकास गरेको खोप प्रयोगका लागि समेत अनुमति दिएको उनले बताएका छन् । रुसले दुई महिनाभन्दा कम समयमा मानव परीक्षण गरी खोप प्रयोगका लागि अनुमति दिएको हो । अधिकारीहरुले अक्टोबरमा खोपको धेरै प्रयोग गर्ने योजना बनाएका छन् । तर स्वास्थ्य क्षेत्रका विश्लेषकहरुले भने आफ्नो ध्यानाकर्षण जनाउँदै हतारमा अनुसन्धातालाई पाखा लगाएर खोपको प्रचार गरेको बताएका छन् । पहिलो खोप सार्वजनिक गरेसँगै यसको सुरक्षालाई लिएर चासो बढेको छ ।

गत हप्तामात्रै विश्व स्वास्थ्य संगठनले रुसलाई कोभिड–१९ विरुद्धको खोप विकास गर्दा अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको थियो । मंगलबार उसले खोपबारे अनुसन्धान गर्न रुसेली अधिकारीसँग छलफल गरिरहेको जनाएको छ । अहिले क्लिनिकल परीक्षणको तेस्रो चरणमा डब्ल्यूएचओको छवटा खोप सूचीमा रुसको खोप छैन । सूचीमा रहेका खोपहरु भने धेरै संख्याको मानव परीक्षणका क्रममा छन् । त्यस्तै सयभन्दा बढी खोपहरु विश्वभर परीक्षणकै चरणमा छन् । कतिपय खोपको प्रगति राम्रो देखिए पनि सन् २०२१ को मध्यतिर मात्रै उपलब्ध हुने धेरै स्वास्थ्यविद्हरुको आँकलन छ ।

के भन्छन् पुटिन ? रुसी खोपलाई विश्वकै पहिलो खोप भएको पुटिनले बताएका छन् । उनका अनुसार यो खोप मस्कोको गामालिया इन्स्टिच्युटले विकास गरेको हो । यसले कोरोना भाइरसविरुद्ध दिगो रुपमा प्रतिरक्षा शक्ति दिने पुटिनले दाबी गरेका छन् । खोपबारे थप केही नभनीकनै उनले यो खोप भाइरसविरुद्ध धेरै असरदार रहेको बताएका छन् । उक्त खोपले आवश्यक परीक्षणका सबै चरण पार गरेको उनको दाबी छ । उक्त खोप आफ्नै छोरीलाई समेत दिएको र केही तापक्रम बढे पनि छोरी ठीक अवस्थामा रहेको पुटिले बताएका छन् । ‘मेरी छोरीले पनि खोप परीक्षण लिएकी छिन्’, पुटिनलाई उद्धृत गर्दै बीबीसीले भनेको छ ।

गत हप्ता रुस सरकारले अक्टोबरमा धेरैलाई खोप प्रयोग गरिने गरी आवश्यक तयारी गरिरहेको बताएको थियो । रुसी वैज्ञानिकहरुले खोपले प्रारम्भिक चरण पूरा गरेको र परिणाम सफल निस्किएको बताएका छन् । रुसी खोपले एडेनोभाइरस (भाइरस जसले श्वासप्रश्वासमा असहज बनाउँछ) यसको अनुकूल प्रकारको प्रयोग गरेर प्रतिरक्षा गर्ने शक्ति निर्माण गर्ने बताइएको छ ।

यसका बाबजुद धेरै ठूलो संख्यामा मानिसमा परीक्षणको चरण पार गर्नैपर्ने विज्ञहरु बताउँछन् । रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले खोप धेरै असरदार र सुरक्षित रहेको मंगलबार बताएका छन् । उनले यसलाई कोभिड–१९ विरुद्ध मानव जातिले पाएको विजय भनेका छन् । तर अमेरिका तथा युरोपमा भने यो खोपविरुद्ध धेरै शंका गरिएको छ । खोपमा हतारिने रुसको कदमलाई उनीहरुले शीतयुद्धकालीन अमेरिका–सोभियत युनियनबीचको अन्तरिक्ष प्रतिस्पर्धासँग तुलना गरेका छन् । गत महिना अमेरिकाका वरिष्ठ सरुवा रोग विज्ञ डा. एन्थोनी फाउसीले परीक्षण प्रक्रिया छलेर द्रुतगतिमा खोप ल्याउन चीन र रुस हतारिएको बताएका थिए । बीबीसीबाट अनुदित 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया