Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता

कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता


क्यानबेरा, भदौ ४
बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ । समाचार संस्था एपीका अनुसार प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताएका छन् । तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए । उनले भने, ‘यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउनेछौँ ।’ प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताउनुभएको थियो, तर उहाँले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गरे ।

उनले खोपबारे इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरेका थिए । मरिसनले भने, ‘अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय राष्ट्रहरुलाई मद्दत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया