Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका र चीनबीच ‘रचनात्मक’ व्यापार वार्ता

अमेरिका र चीनबीच ‘रचनात्मक’ व्यापार वार्ता


वासिड.टन, भदौ १०
अमेरिका र चीनले यसअघि रद्द भएको पहिलो चरणको व्यापार सम्झौता कार्यान्वयनसम्बन्धी भर्चुअल छलफल गरेका छन् । सोमबार भएको उक्त छलफल निकै रचनात्मक भएको दाबी गरिएको छ । वार्तामा सहभागी दुवै पक्षले प्रगति भएको भन्दै व्यापार सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएको वार्तामा सहभागी अमेरिकी व्यापार प्रतिनिधिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि अगस्ट १५ मा यो वार्ता हुने भनिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरिदिएका थिए ।

आफ्नो निर्वाचन सभामा अघिल्लो महिना ट्रम्पले अहिले नै आफू चीनसँग वार्ता गर्ने पक्षमा नरहेको बताएका थिए । अहिले भएको भनिएको वार्तामा अमेरिका र चीनबीच बौद्धिक सम्पत्तिको अधिकार र अन्य विविध मुद्दाहरुमा छलफल भएको अमेरिकी व्यापार प्रतिनिधिहरुले जारी गरेको वक्तव्यमा उल्लेख छ । वार्तामा बौद्धिक सम्पत्तिको अधिकारबारे चीनले प्रभावकारी संरचनागत परिवर्तन गर्नुपर्ने, जबर्जस्ती प्रविधि हस्तान्तरण रोक्नुपर्ने तथा वित्तीय सेवा र कृषि क्षेत्रका अमेरिकी कम्पनीहरुलाई बाधा अड्चन सिर्जना नगर्नेलगायतबारे छलफल भएको वक्तव्यमा भनिएको छ ।

वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजर र वित्त सचिव स्टिभन म्नुचिन तथा चिनियाँ भाइस प्रिमियर (उपप्रधानमन्त्री) लिउ हे सहभागी थिए । पछिल्लो समय तीव्र विवाद बढिरहेका बेला विश्वका प्रमुख दुई अर्थतन्त्रबीच वार्ता र छलफल हुनुलाई विरलै भएको सहकार्यका रुपमा हेरिएको एजेन्सीहरुले जनाएका छन् । खासगरी अमेरिकाले डाटा सुरक्षा, कोरोना महामारी र हङकङसम्बन्धी मुद्दा उचाल्दै विवाद बढाउँदै आएको छ ।

गत हप्ता मात्रै ट्रम्पले चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । उनले टिकटक चिनियाँ कम्पनीले अमेरिकी कम्पनीलाई ९० दिनभित्रै बिक्री गर्नुपर्ने भन्दै समयसीमा तोकिदिएका थिए । टिकटक किन्न माइक्रोसफ्ट ट्विटर लगायतका कम्पनी इच्छुक देखिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया