Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वकै धनी बेजोसको सम्पत्ति २ खर्ब डलर पुग्यो

विश्वकै धनी बेजोसको सम्पत्ति २ खर्ब डलर पुग्यो


अमेरिका, भदौ १२
यसअघि नै विश्वका सर्वाधिक धनीमा गनिएका अमेरिकी अर्बपति रातारात खर्बपति भएका छन् । बेजोसको सम्पत्ति बढेर २ खर्ब अमेरिकी डलर पुगेको हो । व्यक्तिगत सम्पत्ति २ खर्ब डलर पुगेको पहिलोपटक हो ।

उनी अमेजन कम्पनीका मालिक हुन् । कम्पनीको सेयर २५ प्रतिशतभन्दा बढीले एकै महिना वृद्धि भएपछि यो वर्षमात्रै सेयर ८६ प्रतिशतले बढेको रिफाइनिटिभको तथ्यांकले जनाएको छ । बेजोसले सन् १९९४ मा अमेजन स्थापना गरेका थिए । उनी सन् २०१७ मा विश्वकै धनी बनेका थिए । गत महिनामात्रै उनको सम्पत्ति बढेर १ सय ७२ अर्ब डलर पुगेको थियो ।

विश्व महामारी सुरु भएयता प्रविधि क्षेत्रका अर्बपतिको सम्पत्ति निरन्तर बढिरहेको छ । यही महिनाको सुरुतिर सामाजिक सञ्जाल कम्पनी फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको थियो । यसले उनलाई ‘सेन्टिबिलेनियर’ बनाइदिएको थियो । यसबाहेक टेस्लाका सीईओ एलन मस्कको पनि ९६ अर्ब डलर सम्पत्ति पुगिसकेको छ भने माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि १ खर्ब बढी सम्पत्ति आर्जन गरिसकेका छन् । एप्पलका सीईओ टिम कुकले पनि आफ्नो सम्पत्ति बढाइरहेका छन् ।

बेजोसले ब्लु ओरिजिन नामको अन्तरिक्ष यात्रासम्बन्धी कम्पनी पनि स्वामित्व लिएका छन् । उनले उक्त कम्पनी सन् २००० मा स्थापना गरेका थिए । यसबाहेक अमेरिकाको चर्चित पत्रिका दि वासिङटन पोस्ट पनि उनकै स्वामित्वमा रहेको छ । सन् २०१३ मा उनले पत्रिका किनेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया