Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘अमेरिका–भारत व्यापार सम्झौता चाँडै’

‘अमेरिका–भारत व्यापार सम्झौता चाँडै’


नयाँ दिल्ली, भदौ १८
संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ ।

एएनआईका अनुसार भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले दुई देशबीचको व्यापार सम्झौताका सन्दर्भमा अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरसँग निकट सम्पर्कमा रहेको मंगलबार बताएका हुन् ।

अमेरिका–भारत रणनीतिक साझेदारी मञ्चको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले भने, ‘व्यापारसम्बन्धी पूरै प्याकेज लगभग तयार भइसकेको छ र यसलाई कुनै पनि समय अन्तिम रुप दिन सकिनेछ । भारतको विचारमा यो प्याकेजले दुवै मुलुकको जितलाई प्रतिविम्बित गरेको छ ।’

मन्त्री गोयलले अगाडि भने, ‘मैले अमेरिकी व्यापार प्रतिनिधि लाइथाइजरसँग विचारविमर्श गरेको छु । हामी दुवैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको छ । हामी भोलि नै यो सम्झौता गर्न पनि तयार छौँ ।’ उनले व्यापार सम्झौताले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई अझ प्रगाढ र गहिराइमा लैजान मद्दत गर्ने बताए ।

मन्त्री गोयलले दुवै मुलुकबीचको समझदारी अभिवृद्धि हुँदै गएमा आगामी दिनमा भारत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया