बोइङका प्रमुख कार्यकारी निकालिए, नयाँ सीईओमा डेभिड कोलहन
न्युयोर्क पुस ९
अमेरिकी विमान निर्माता कम्पनी बोइङले सीईओ डेनिस मुलेनबर्गलाई सोमबार पदबाट बर्खास्त गरेको छ । दुईवटा विमान दुर्घटनाले ठूलो आर्थिक नोक्सानीमा फसेको कम्पनीले उनको स्थानमा डेभिड कोलहनलाई पदस्थापन गरेको एजेन्सीहरुले जनाएका छन् । कोलहन कम्पनीको प्रमुखमा रहेकामा अब उनैले प्रमुख कार्यकारीको भूमिका पनि सम्हाल्नेछन् । सन् २०२० को जनवरी १३ देखि उनले पद सम्हाल्ने कम्पनीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । कम्पनीले पनि यसको पुष्टि गरेको छ । बोइङको निर्देशकीय बोर्डको बैठकले मुलेनबर्गलाई पदबाट बर्खास्त गरेको हो । कम्पनीका ग्राहक र नियामक दुवैले बोइङलाई विश्वास गर्न छाडेको कारण मुलेनबर्गलाई निकालिएको बताइएको छ ।
‘नेतृत्व परिवर्तन कम्पनीको विश्वसनीयता जोगाउनका लागि हो’, कम्पनीले प्रेस वक्तव्यमा भनेको छ, ‘कम्पनीलाई अगाडि बढ्न र नियामक, ग्राहकसँग मिलेर काम गर्न पनि यो आवश्यक देखियो ।’ इन्डोनेसिया र इथियोपियामा भएको बोइङको ७३७ म्याक्स जेट विमान दुर्घटनामा ३ सय ४६ जना मारिएपछि उक्त मोडलका सबै विमान विश्वभर ग्राउन्डेड भएका छन् । हालसम्म पनि ती विमानहरु सेवामा फर्किएका छैनन् भने सोही कारण विभिन्न देशका नियामक निकायबाट अनुसन्धान जारी छ । यसअघि म्याक्सजेट विमान बोइङको सबैभन्दा बढी बिक्री भइरहेको थियो । गत मार्चदेखि नै उक्त विमानहरु विश्वभर ग्राउन्डेड अवस्थामा रहेका छन् ।
यसअघि नै कम्पनीले उक्त मोडलका विमान केही समयका लागि उत्पादन नगर्ने बताइसकेको छ । जनवरीदेखि म्याक्सजेटको उत्पादन रोकिनेछ । ग्राउन्डेड भए पनि हाल कम्पनीले उक्त मोडलका विमान उत्पादन रोकेको छैन । तर अमेरिकी नियामकले अनुसन्धान जारी राखेपछि विमान उत्पादन नै रोक्ने कम्पनीले निर्णय गरेको हो । यात्रु सुरक्षालाई लिएर अहिले पनि बोइङका उक्त विमानले विश्वास जगाउन सकेका छैनन् ।
गत हप्तामात्रै बोइङकै एउटा अन्तरिक्षयानले पहिलो अन्तरिक्ष उडान गरेको थियो । मानवरहित परीक्षण उडान तोकिएको मितिभन्दा धेरै पछि गरिएको हो । अर्बौँ डलर खर्च भएको र निर्धारित मितिमा तयार नगरेको भन्दै कम्पनीविरुद्ध अमेरिकी अधिकारीले रोष पोखेका थिए । अमेरिकाले चन्द्रमामा मानव पठाउने नीतिगत रुपमै घोषणा गरिसकेको छ । तर पछिल्लो दुर्घटनाले कम्पनी अप्ठ्यारोमा परेको छ । वित्तीय रुपमा भने कम्पनीको सेयर अहिले पनि बढेकै छ ।
नयाँ कार्यकारी घोषणासँगै कम्पनीले नयाँ प्रतिबद्धतासाथ अघि बढ्ने घोषणा गरेको छ । सोमबार मात्रै कम्पनीको सेयर ३ प्रतिशतले वृद्धि भएको थियो । मुलेनबर्गलाई पछिल्लो निर्णयबारे आइतबार राति जानकारी दिइएको थियो । सीएनएनका अनुसार बोर्डले उनीसँग राजीनामा मागेको थियो । तर बोर्ड बैठकमा कतिपय निर्देशकले भने सीईओ परिवर्तन गर्दा नकारात्मक सन्देश जानसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
मुलेनबर्ग सन् २०१५ जुलाईमा विश्वकै ठूलो हवाइ कम्पनीको प्रमुख बनेका थिए । सुरुमा प्रमुख चुनिएका उनलाई पछि सीईओ बनाइएको थियो । उनले सन् १९८५ देखि कम्पनीमा विभिन्न भूमिका निभाइसकेका छन् । नयाँ सीईओका रुपमा आउनलागेका कोलहनले भने सन् २००९ देखि कम्पनीको बोर्डमा रहेर काम गर्दै आएका छन् । उनले निल्सेन होल्डिंग्स कम्पनीको सीईओ तथा प्रमुख, ब्ल्याकस्टोन ग्रुपमा सिनियर मेनेजिङ डाइरेक्टरको भूमिका समेत निभाइसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया