Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियामा फेसबुक र गुगलका विषयमा कानुन संशोधन गर्न प्रस्ताव

अस्ट्रेलियामा फेसबुक र गुगलका विषयमा कानुन संशोधन गर्न प्रस्ताव


क्यानवेरा ।
फेसबुक र गुगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्नेसम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुवै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् ।

अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताएका छन् । प्रस्तावित कानुनमा अक्टोबरको सुरुदेखि नै फेसबुक र गुगलले अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा सञ्चारमाध्यमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था समेटिएको छ ।

फेसबुकले समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामग्री आफ्नो साइटमा नदेखिने बनाउन लागेको चेतावनी दिएको छ । गुगलले पनि प्रस्तावित कानुनले गुगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने जनाएको छ । गुगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुन सक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु संचार माध्यममा पुग्न सक्ने बताएको छ ।

सिम्सले अमेरिकी सामाजिक सञ्जालका प्लेटफर्मसँग प्रस्तावित कानुनका बारेमा छलफल गरिरहेको बताउनुभएको छ । प्रस्तावित कानुनका बारेमा अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ । सिम्सले गुगलले उठाएका केही सरोकार जायज रहेका छन्, र त्यसलाई सच्याउन कानुनी व्यवस्था गरिने बताए । उनले गुगल वा फेसबुकले भनेझैं सबै कुरा फेरबदल गर्न नसकिने बताए ।

स्पेन र फ्रान्सले पनि बौद्धिक कानुन मार्फत समाचारका लागि फेसबुक र गुगलमाथि भुक्तानीको दाबी गर्ने अभियान संचालन गरे पनि त्यो असफल भएको थियो । यस विषयमा संयुक्तराज्य अमेरिका र युरोपमा पनि उस्तै समस्या रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया