Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२० महिना ग्राउन्डेडपछि बोइङ म्याक्सजेटलाई यात्रु उडाउन स्वीकृति

२० महिना ग्राउन्डेडपछि बोइङ म्याक्सजेटलाई यात्रु उडाउन स्वीकृति


अमेरिका ।
इथियोपिया र इन्डोनेसियामा केही समय अन्तरमा भएको एकै प्रकृतिको विमान दुर्घटनासँगै ग्राउन्डेड भएको बोइङका ७३७ म्याक्सजेट विमानले लामो समयपछि व्यावसायिक उडान गर्न स्वीकृति पाएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (द फेडेरल एभिएसन एडमिनिस्ट्रेसन) ले बुधबार बोइङको ७३७ म्याक्स जेट विमानलाई पुनः व्यावसायिक सेवामा फर्किन अनुमति प्रदान गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सीएनएनका अनुसार दुई ठूला एकै प्रकृतिका दुर्घटना ३ सय ४६ जनाको मृत्यु भएपछि लामो समय ग्राउन्डेड अवस्थामा रहेको उक्त मोडलका विमानको समस्याग्रस्त सफ्टवेयरलगायतमा व्यापक सुधारपछि उडान अनुमति प्रदान गरिएको हो । म्याक्स जेट विमानहरु २० महिनायता ग्राउन्डेड बस्नुपरेको थियो ।

यो मोडलका विमानको बिक्री विश्वभर उल्लेख्य मात्रामा भए पनि दुर्घटनापछि विश्वभर ग्राउन्डेड गरिएका थिए । विमान दुर्घटनापछि यसको निर्माण प्रकृतिको पुनः अध्ययन गरिएको थियो। सो क्रममा सेफ्टी फिचरमा समस्या भेटिएको थियो । यी विमान ग्राउन्डेड हुँदा बोइङलाई २० अर्ब डलरभन्दा बढी नोक्सानी भएको थियो। यतिमात्र नभई कम्पनीले नयाँ विमानको माग समेत गुमाउनुपरेको थियो । विमानले सेवाका लागि अनुमति पाउने आशा र प्रतीक्षाका बीच कम्पनीको सेयर मूल्य समेत बढ्नथालेको छ ।

एफएएको अनुमति पहिलो कदम मात्रै भएको बताइएको छ । यसअन्तर्गत ३२ देशका ५९ एयरलाइन्सले ३ सय ८७ वटा ग्राउन्डेड विमान उडाउने अनुमति पाएका छन् । त्यस्तै एफएएको अनुमतिमा अमेरिकाको अमेरिकन, युनाइटेड र साउथवेस्ट एयरलाइन्सले चलाउँदै आएका ७२ वटा म्याक्सजेट पर्ने बताइएको छ ।

एफएएले अनुमति दिए पनि सम्बन्धित देशले त्यसको प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यस्तै पुनः यात्रु बोक्ने उक्त विमानले आवश्यक समाधान भएको प्रमाणीकरण गर्नुपर्ने एफएएले जनाएको छ । केही हप्ताभित्रै यसको प्रक्रिया सुरु हुनेछ । त्यस्तै अहिलेसम्म अमेरिकन एयरलाइन्सले मात्रै उडान तालिका सार्वजनिक गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया