Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपहिलोपटक ७ प्रतिशतले घट्यो विश्वको कार्बन उत्सर्जन

पहिलोपटक ७ प्रतिशतले घट्यो विश्वको कार्बन उत्सर्जन


लन्डन ।
सन् २०२० मा विश्वमा कार्बन उत्सर्जनदरमा कीर्तिमानी गिरावट आएको छ । अध्येताहरुका अनुसार यो वर्षमात्रै ७ प्रतिशतले कार्बन उत्सर्जन घटेको हो । यो दोस्रो विश्वयुद्धयताकै धेरै वार्षिक गिरावट हो । खासगरी कोरोना महामारीविरुद्ध विश्वका सरकारहरुले गरेका लकडाउनका कारण यस्तो सफलता हात परेको बताइएको छ ।

फ्रान्स र बेलायतमा यस्तो गिरावट दर उच्च छ । ती दुवै देशले कोभिड संक्रमण रोक्न कडा र लामो लकडाउन गरेका थिए । तर चीनमा भने महामारीको प्रभाव क्रमशः घट्दै जाँदा यो वर्ष उत्सर्जन फेरि उच्च दरमा बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । यो वर्षको कार्बन गिरावट दरले यसअघिका सबै गिरावट दरको कीर्तिमान भंग गरेको बीबीसीले जनाएको छ । ग्लोबल कार्बन प्रोजेक्ट टोलीका अनुसार यो वर्ष मात्रै २ अर्ब ४० करोड टन कार्बन उत्सर्जन घटेको छ । सन् २००९ मा विश्व आर्थिक मन्दीका बेला ५० करोड टनमात्रै घटेको थियो भने दोस्रो विश्वयुद्धका बेला १ अर्ब टन घटेको थियो ।

युरोप र अमेरिकामा १२ प्रतिशतका दरले घटे पनि कुनै कुनै देशमा भने त्योभन्दा धेरैले कार्बन उत्सर्जन घटेको छ । फ्रान्सको कार्बन उत्सर्जन दर १५ प्रतिशतले र बेलायतको १३ प्रतिशतले घटेको बताइएको छ । लकडाउन र प्रतिबन्धका कारण विश्वको हवाइ क्षेत्र यो वर्षको अन्तिमसम्म पनि प्रभावित भएका छन् । यो क्षेत्रको उत्सर्जन दर ४० प्रतिशतभन्दा तल रहने बताइएको छ । अनुसन्धान टोलीले चीनमा यो वर्ष १.७ प्रतिशतले मात्रै कार्बन उत्सर्जन घट्ने अनुमान गरेको छ । तर कतिपय विश्लेषकले भने चीनमा आर्थिक क्रियाकलाप फर्किसकेको भन्दै उत्सर्जन दर बढिरहेको आशंका व्यक्त गरेका छन् ।

सन् २०१० को सुरुतिर विश्व कार्बन उत्सर्जन दर ३ प्रतिशतबाट घटेर ०.९ प्रतिशत हाराहारीमा झरेको थियो । खासगरी कोइलालाई मुख्य ऊर्जा स्रोत मान्ने प्रचलनको विकल्प खोजिनथालेपछि यस्तो गिरावट देखिएको थियो । यो वर्ष कीर्तिमानी दरमा घटे पनि सन् २०२१ मा पुनः कार्बन उत्सर्जन बढ्ने चिन्ता अनुसन्धाताहरुले गरेका छन् । वैज्ञानिकहरुले यो वर्षको कार्बन उत्सर्जनमा आएको कमीलाई स्वागत भने गरेका छन् । बीबीसीबाट


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया