Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी सेयरबजारबाट चिनियाँ कम्पनीलाई गलहत्याउन सक्ने कानुनमा ट्रम्पले हस्ताक्षर गरे

अमेरिकी सेयरबजारबाट चिनियाँ कम्पनीलाई गलहत्याउन सक्ने कानुनमा ट्रम्पले हस्ताक्षर गरे


वासिड.टन. ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीलाई अमेरिकी सेयरबजारबाट निष्काशन गर्नसक्ने कानुनको विधेयकमा गत शुक्रबार हस्ताक्षर गरेका छन् । रोयटर्सका अनुसार अमेरिकी अडिटसम्बन्धी मानक मापदण्ड अनुसरण नगर्ने चिनियाँ कम्पनीलाई यो कानुनले गलहत्याउन सक्नेछ ।

रिपब्लिकन राष्ट्रपतिले ह्वाइटहाउस छोड्ने समय नजिकिइरहँदा चीनमाथि थप दबाब सिर्जना गर्न यो कानुन ल्याइएको हो । यो कानुनको नाम ‘द होल्डिङ फरेन कम्पनिज एक्ट’ रहेको छ । विशेषतः चिनियाँ कम्पनी लक्षित भए पनि यो कानुनले अमेरिकी पब्लिक एकाउन्टिङ ओभरसाइट बोर्डको तीन वर्षे अडिट मापदण्ड पालना नगर्ने कुनै पनि विदेशी कम्पनीको धितोपत्र (सेयर) अमेरिकी सेयरबजारमा सूचीकृत हुनबाट रोक्नसक्छ ।

यो विधेयक अमेरिकी संसदमा गत वर्ष पारित भएको थियो । डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए । ट्रम्प राष्ट्रपति भएयता चीनविरुद्ध कडा नीति अख्तियार गर्दै आएका छन् । विशेषगरी व्यापारमा ट्रम्प निकै आक्रामक देखिँदै आएका छन् । यो कानुनपछि विदेशी कम्पनीहरुले आफ्नो स्वामित्वबारे पनि स्पष्ट खुलाउनुपर्नेछ ।



तपाईको प्रतिक्रिया