Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाले बनाइदिएका ‘टेस्लानायर्स’ अर्थात् डलर लखपतिहरू

टेस्लाले बनाइदिएका ‘टेस्लानायर्स’ अर्थात् डलर लखपतिहरू

यो वर्ष मात्रै टेस्लाको सेयर मूल्य ७ सय प्रतिशतले बढ्यो


अमेरिका ।
सन् २०२० मा अमेरिकी विद्युतीय अटो निर्माता टेस्ला कम्पनीको सेयर मूल्य आकाशिएको छ । विश्वकै दोस्रो ठूलो धनी अर्बपति एलन मस्कको कम्पनीको सेयर मूल्य यो वर्ष सात सय प्रतिशतभन्दा धेरैले बढेको बीबीसीले जनाएको छ । योसँगै अहिले टेस्ला विश्वकै सर्वाधिक मूल्यवान् कार कम्पनी बनेको छ ।

टेस्ला सेयरबजारमा एक दशकअघि प्रवेश गरेको थियो । सुरुवाती दिनमा यो कम्पनीमा दीर्घकालीन लगानी गर्न हिच्किचाउनुपर्ने अवस्था थियो । तर यो कम्पनीमा सेयर लगानी गर्नेहरूले सधैँ कमाउ यात्रा गर्न सफल भए । टेस्लाको लागि यो महिना अझै कोशेढुंगा साबित भयो । यही महिना कम्पनी अमेरिकाको सबैभन्दा ठूलो सेयरबजार एसएण्डपी ५०० मा सूचीकृत भयो । एप्पल, माइक्रोसफ्ट र फेसबुकजस्ता संसार खाएका कम्पनीहरू यही बजारमा सूचीकृत छन् । यो बजार प्रवेशसँगै टेस्ला १० उत्कृष्ट र धेरै मूल्यवान् कम्पनी बन्न सफल भयो ।

टेस्लाको सेयर अहिले जनरल मोटर्स (जीएम), फोर्ड, फियाट क्राइस्लर र टोयोटाको सबै जम्मा गर्दा समेत धेरै मूल्यको छ । यति हुँदाहुँदै पनि टेस्लाले यी कम्पनीहरूको तुलनामा उनीहरूले उत्पादन गर्नेमध्ये एक भाग मात्रै उत्पादन गर्छ । विश्लेषकहरू सुरुवाती दिनमा टेस्लाको सेयर किनेर नबेचेका लगानीकर्ताले कम्पनीको सेयरबाट धेरै फाइदा उठाएको बताउँछन् । टेस्लाको बढेकोमध्ये धेरै हिस्सा यसको सुधारिँदो कार बिक्रीले ओगटेको छ । कम्पनीका कारको माग चीनमा उच्च छ ।

विद्युतीय उत्पादनका कारण पनि कम्पनीले फाइदा उठाइरहेको छ । विश्वमा अहिले विद्युतीय कारको माग उच्च छ र त्यसका लागि आर्थिक सहुलियत समेत प्राप्त हुने आशामा टेस्ला छ । कारमात्र नभई टेस्लाको अरु व्यवसाय पनि छ । यसको स्वचालित सफ्टवेयर र ब्याट्री पावर स्टोरेजबाट पनि टेस्लालाई फाइदा पुगेको छ ।

टेस्ला सन् २०१० मा पब्लिक कम्पनी भएको थियो । त्यतिबेला यसको सेयर प्रतिकित्ता १७ अमेरिकी डलर थियो । यही सेयर यो हप्ता प्रतिकित्ता ६५० अमेरिकी डलरभन्दा बढी पुगेको छ । विश्व कोरोना महामारीमा डुबिरहँदा टेस्लाको सेयर भने आकाशिएको थियो । लगानीकर्ताहरू टेस्लालाई केवल कार कम्पनी नभएको बुझाइमा पनि आकर्षित भइरहेको विश्लेषकहरूको भनाइ छ ।

त्यसो त टेस्लालाई आँखा चिम्लेर विश्वास गर्नेहरू पनि छन् जो टेस्लाको सेयर मूल्य अझै बढ्ने विश्वास गर्छन् । लस एन्जेलसका इन्जिनियर जासन डेबोल्टले टेस्लामा पहिलो लगानी १९ हजार अमेरिकी डलरमा २५ सय कित्ता सेयर किनेका थिए । उनले सन् २०१३ मा टेस्ला मोडेल एस कार किनेपछि गरेका थिए । त्यसपछि उनले निरन्तर रुपमा कम्पनीको सेयर किन्नथाले ।

अहिले उनीसँग १५ हजार कित्ता सेयर छ जसको मूल्य १ करोड अमेरिकी डलर पुगेको छ । त्यतिबेला आकस्मिक रुपमा हौसिएर लगानी गरेको उनी सम्झिन्छन् । उनले कम्पनीको सेयर किनिरहँदा मिडियाहरूले टेस्ला र यसका मालिक एलन मस्कको उछित्तो काढ्थे । जुन उनका लागि असह्य हुन्थ्यो । उनलाई सेयरमूल्य घट्दाभन्दा त्यसले बढी पीडा दिन्थ्यो । उनलाई सेयर मूल्य एक दिन फेरि बढ्नेमा विश्वास थियो ।

डेबोल्ट टेस्लामा लगानी गर्नेहरूको क्लबका एक सदस्य भएका छन् । उनले अहिले फेसबुक ग्रुपमार्फत लगानीकर्तासँग च्याट गर्छन् । त्यस्तै न्युयोर्कका स्कट टिस्डेलले सन् २०१३ मा कम्पनीको मोडल एसमा आँखा परेपछि लगानी गर्न सुरु गरेका थिए । हालसम्म उनले टेस्लाको झण्डै चार हजार कित्ता सेयर जोडिसकेका छन् । यसको मूल्य अहिले २८ लाख अमेरिकी डलर पुगेको छ । उनलाई त्यतिबेला आलोचित कम्पनीको सेयर किनेकोमा पछूतो थिएन । उनी सोच्थे – साँचो कथा त बल्ल सुरु हुँदै छ । उनले सेयर किन्दा मानिसहरू ‘ओभरभ्यालु’ सेयर किनेको भनेर गिज्याउँथे । तर अहिले ती मानिसहरू गलत साबित भएका छन् भने लगानीकर्ताहरू ‘टेस्लानायर’ अर्थात् लखपति बनेका छन् ।

विज्ञहरू टेस्लाको अबको यात्राबारे सेयर ७ सय प्रतिशतबाट अर्को वर्ष नबढ्ने अनुमान गर्छन् । उनीहरू सही साबित भए नयाँ ‘टेस्लानायर’हरूको संख्या सीमित हुनेछ । विज्ञहरूले अन्य प्रतिस्पर्धी कम्पनीहरू एप्पललगायतसँगको प्रतिस्पर्धालाई देखाएर यस्तो अनुमान गरेका हुन् । एप्पलले पनि चिनियाँ कम्पनीसँग मिलेर विद्युतीय कार उत्पादनमा इच्छा देखाएको छ । बीबीसीबाट अनुदित


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया