Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानी कमान्डर मारिएपछि कच्चा तेलको मूल्य बढ्यो

इरानी कमान्डर मारिएपछि कच्चा तेलको मूल्य बढ्यो


युरोप, पुस २०
इरानी क्रान्तिकारी सेना (कुद्स)का जनरल अमेरिकी सेनाको कारबाहीमा इराकमा मारिएसँगै विश्वमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । विश्लेषकहरुले इरानले प्रत्याक्रमण गर्नसक्ने चेतावनी दिएका छन् । शुक्रबार बिहानै बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी कमान्डर कासिम सुलेमानीको मृत्यु भएको हो ।

पछिल्लो घटनाक्रमले विश्वकै तेल उत्पादन प्रभावित हुनसक्ने देखिएको बीबीसीले जनाएको छ । घटनापछि ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य ३ प्रतिशतले बढेर ६९.५० डलर प्रतिब्यारेल पुगेको छ । जुन सेप्टेम्बरयताकै उच्च हो । तेलबजार र लन्डन स्टकमा उच्च मूल्य वृद्धि भएको बताइएको छ । बीबीसीका अनुसार बीपी २.७ प्रतिशतले र रोयल डच शेल १.९ प्रतिशतले बढेका छन् । त्यस्तै अमेरिकी कम्पनीहरु एक्सन मोबिलको सेयर भने घटेको छ । डो र नास्डाक दुवै शून्य दशमलव ८ प्रतिशतले घटेको छ भने एसएण्डपी ५०० सूचक शून्य दशमलव ७ प्रतिशतले घटेको छ ।

इरान र अमेरिकाबीच सन् २०१८ उच्च विवाद बढिरहेको थियो । सोही वर्ष अमेरिकाले इरानसँग भएको आणविक सम्झौताबाट पछि हटेको थियो । इरानले आणविक हतियार निर्माण गर्ने भन्दै अमेरिकाले सोही समयदेखि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । पछिल्लो घटनाले विश्व तेल आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । घटनासँगै अन्तर्राष्ट्रिय कच्चा तेल बेन्चमार्क, ब्रेन्ट क्रुडको मूल्य ३.५ प्रतिशतले शुक्रबार बढेको थियो । त्यस्तै अमेरिकी कम्पनी वेस्ट टेक्सास इन्टरमेडियट ३ प्रतिशतले वृद्धि भएको थियो । अझै अमेरिका र इरानबीच प्रत्यक्ष युद्ध भए तेलको मूल्य उच्च दरमा वृद्धि हुने विश्लेषकहरुले बताएका छन् ।

नेटोद्वारा इराकमा तालिम अभियान स्थगित :- यसैबीच, उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ । अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित छ जनाको मृत्यु भएको थियो ।

अल–मुहन्दीसले इरानको समर्थनप्राप्त समूह कताइब हेजबुल्लाह र इरानसँग निकट अन्य लडाकू समूहहरूको छाता संगठन समूहको पनि नेतृत्व गर्दै आएका थिए । इराकमा नेटोका सयौँको संख्यामा सैनिक तैनाद भएका छन् भने उनीहरूले इराकी सेनालाई आवश्यक तालिम दिँदै आएको थियो । इराकी सरकारले बग्दादमा इस्लामिक समूहका गतिविधि रोक्नका लागि नेटोको सहयोगका लागि माग गरे अनुरूप नेटोले आफ्ना अधिकारीलाई त्यहाँ पठाएको थियो ।

संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह :- इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ । खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि उनीहरुले आग्रह गरेको बताइएको छ ।

दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ । राष्ट्रपति म्यार्कों सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिएका थिए । केहीदिनअघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ । अमेरिका र इरानका शिर्ष नेताले एक अर्कोलाई चेतावनी दिने गरेका छन् ।

कमाण्डरको अन्त्येष्टिमा हजारौं इराकी सहभागी :- त्यस्तै, अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् ।इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो । बग्दाद जिल्लामा रहेको शिया धर्माबलम्वीहरुको तिर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौँ सहभागी भएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारवाहीका क्रममा उनीहरु मारिएको बिहीबार राति पुष्टि गरेको थियो ।

‘अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारवाहीका क्रममा कासिमको मृत्यु भएको हो’, पेन्टानगनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मारिएको हो । वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन् । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

को हुन् कासिम सुलेमानी ? इरानले स्वदेशमा तथा विशेषगरी विदेशमा राष्ट्रियताको पक्षमा गतिविधि गर्न भन्दै इरान क्विड नामक विशेष दस्ताको स्थापना गरेको थियो । पछिल्लो समयमा उक्त दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो । इरानको सरकारले सन् १९९८ देखि उक्त दस्ताको नेतृत्व सुलेमानीलाई सुम्पेको थियो । तर पनि उनलाई अमेरिकाले भने आतंकवादी व्यक्तिको सूचीमा राख्दै आएको छ ।

उक्त दस्ताले इरानका लागि इरानबाहिरका देशहरुमा गोप्य गतिविधिहरू सञ्चालन गर्ने गरेको छ । यसैकारण अमेरिकाले सो सूचीमा राखेको थियो । सुलेमानीले सन् १९८० पछि भएको इरान इराक युद्धमा समेत लडेका थिए । उनलाई इरान सरकारको अति निकटका एक व्यक्तिका रुपमा पनि चिनिन्थ्यो ।

सुलेमानीले सिरियामा कायम रहेको बसर अल असदको सत्ताका पक्षमा पनि काम गर्दै आएका थिए । साथै त्यहाँ भएको आइएसका विरुद्धमा पनि विशेष कारबाही गर्ने गर्दथे । उनले इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसँग नै सम्पर्क राख्न सक्थे र उनको नेतृत्वमा रहेर काम गर्ने गर्दथे । शुक्रबार जनरल सुलेमानी आफ्नो कारमा सवार रहेका बेला अमेरिकी सेनाले सोही क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर मारिएका हुन् । इरानले यस कारबाहीलाई एक निकै नै खतरनाक काम भनेको छ भने अमेरिकी सञ्चारमाध्यमहरूले भने उक्त कारबाहीको अमेरिकी पक्षबाट बचाउ गरेका छन् ।

अमेरिकी प्रतिक्रिया :- ती कमाण्डर मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबारको सो आक्रमणको घटनापछि उनले ट्विट अकाउन्टमा अमेरिकाको झण्डा राखेका थिए । तर घटनाका बारेमा केही लेख्नुभएको छैन । तर अमेरिकी रक्षा मन्त्रालयले भने शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा कासिम सुलेमानी मारिएको बताएको छ । यसलाई रक्षा मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि गरिएको कारबाही पनि भनेको छ । उक्त विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयमा संसारभर रक्षात्मक रुपमा कामगर्ने र आगामी दिनमा पनि यस्ता कार्यहरु गरिरहने बताएको छ ।

उता शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजक रुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् । तर यूरोपेली संघले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशिल भएर संयमता अपनाउन आग्रह गरेको छ । शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ ।

यसले मध्यपूर्वमा तनाव बढाएको रुसले जनाएको छ । रुसले इरानी ती कमाण्डरको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति पनि व्यक्त गरेको छ । बग्दादमा अमेरिकी आक्रमणबाट भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा अहिले पनि जारी रहेको तनावलाई थप बढाउने रुसले आशंका गरेको छ । उता यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै शान्त रहन आग्रह गरेका छन् ।

उनले इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधिहरुलाई रोक्न र अबका दिनमा कुनै द्वन्द्वका घटना हुन नदिन आग्रह गरेका छन् । त्यस्तै फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनावलाई रोक्न सबैले पहल गर्नुपर्ने बताएका छन् ।

राष्ट्रसंघ भन्छ– अर्को खाडी युद्धको त्रास हटोस् :- यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार संयुक्त राष्ट्रसंघले इराकको राजधानी बग्दादमा भएको शुक्रबारको घटनाले खाडी क्षेत्रमा अर्को युद्धको अवस्था नल्याओस भनेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अमेरिकाले इराकको सो घटनाले खाडी क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै विश्वले फेरि अर्को खाडी युद्ध सहन नसक्ने बताएका छन् । महासचिव गुटर्रेसले निरन्तर रुपमा खाडीमा भइरहेको तनावलाई कम गर्न संयुक्त राष्ट्रसंघले पनि निरन्तर पैरवी गरिरहेको बताएका छन् । महासचिव गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा विश्वका नेताहरूले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्ने छ, विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया