Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा विद्युतीय मुस्ताङ उत्पादन गर्दै फोर्ड

चीनमा विद्युतीय मुस्ताङ उत्पादन गर्दै फोर्ड


वेइजिङ ।
चर्चित सवारीसाधन ब्रान्ड फोर्डले विद्युतीय मुस्ताङ गाडी चीनमा उत्पादन गर्ने भएको छ । कम्पनीले पहिलोपटक चीनबाट विद्युतीय मुस्ताङ उत्पादन गर्नलागेको हो । अमेरिका कार निर्माताले यही वर्षको अन्त्यतिर मुस्ताङ म्याक–ई उत्पादन थाल्ने बताएको छ । चीन विद्युतीय सवारीसाधनको ठूलो बजार हो ।

यसअघि नै यो महिनाको सुरुतिर टेस्लाले आफ्नो मोडल वाई शांघाईमा रहेको फ्याक्ट्रीबाट उत्पादन सुरु गरेको थियो । सबैजसो पश्चिमेली सवारीसाधन कम्पनीले चीनलाई लक्षित गरी उत्पादन थालिरहेका छन् । विद्युतीय सवारीसाधनको व्यापार फस्टाउँदो अवस्थामा रहेकाले कम्पनीहरु चीनतर्फ बढी आकर्षित भएका हुन् ।

फक्सवागनले पनि चाँडै चीनस्थित नयाँ निर्मित दुईवटा कारखानाबाट विद्युतीय सवारीसाधन उत्पादन गर्ने बताइसकेको छ । चीन विश्वकै ठूलो कार बजार हो । यहाँ हरेक वर्ष दुई करोड कार बिक्री हुन्छन् । गत बिहीबार जर्मनीको डायम्लरले २०२० को लागि बलियो नतिजा सार्वजनिक गरेको थियो । चिनियाँ अर्थतन्त्र सुधारिँदो क्रममा रहेको र सरकारी नीति पनि विद्युतीय सवारीसाधन मैत्री देखिएको कारण फोर्डले पनि नयाँ उत्पादनको तयारी गरेको हो ।

नयाँ विद्युतीय मुस्ताङ स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) हुनेछ । मुस्ताङ एसयूभीको आयात खर्चिलो समेत भइरहेको सन्दर्भमा स्थानीय तहमै उत्पादनको तयाारी भएको बताइएको छ । फोर्डले गत वर्ष मार्चमा चीनमै बनेको लिंकन सार्वजनिक गरेको थियो । यद्यपि चीनमा फोर्ड प्रतिस्पर्धात्मक स्तरमा उक्लिनसकेको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया