Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारम्यानमार सैन्य कू : बियर कम्पनी किरिनद्वारा व्यावसायिक साझेदारी तोड्ने घोषणा

म्यानमार सैन्य कू : बियर कम्पनी किरिनद्वारा व्यावसायिक साझेदारी तोड्ने घोषणा


न्यापित ।
जापानको बियर कम्पनी किरिनले म्यानमारमा रहेको आफ्नो व्यावसायिक साझेदारी तोड्ने घोषणा गरेको छ । म्यानमारको सेनासँग सम्बन्धित समूहमा यसको साझेदारी रहेको थियो । म्यानमार इकोनोमिक होल्डिंग्ससँगको संयुक्त उपक्रममा कम्पनीले व्यवसाय गरिरहेको छ । यसमा म्यानमार सेनापति सेनियर जनरल मिन आंग लाइङको सिधा नियन्त्रण छ । सोमबार उनकै नेतृत्वमा सेनाले सत्ता कब्जा गरेको थियो ।

शुक्रबार किरिनले विज्ञप्ति जारी गर्दै म्यानमारको सेनाको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । किरिन विश्वकै ठूलोमध्येको ब्रिविङ कम्पनी हो । यसका किरिन र टुहिज ब्रान्ड छन् । सान मिगेलमा पनि यसको धेरै सेयर छ भने बेलायत र अमेरिकामा धेरै क्राफ्ट बियरहरु छन् ।

किरिनले म्यानमार इकोनोमिक होल्डिंग्ससँगको साझेदारीमा म्यानमार ब्रुअरी र मन्डले ब्रुअरीमा आधाभन्दा बढी स्वामित्व लिएको छ । कम्पनीले सन् २०१५ मा लगाननी गरेको थियो । ‘म्यानमारका जनता र अर्थतन्त्रलाई केही योगदान गर्न सकिन्छ कि भनेर हामीले प्रजातान्त्रिक व्यवस्थाको महत्वपूर्ण घडीमा लगानी गरेका थियौँ’, किरिनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर वर्तमान परिस्थितिमा एमईएचसँगको साझेदारी तोड्नुको विकल्प छैन ।’

आकस्मिकताको अवस्थामा साझेदारी तोड्नलागेको कम्पनीले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अनुसन्धानले एमईएचको सम्बन्ध म्यानमारको सेना र यसका सेनापति मिन आंग लाइङसँग जोडिएको खुलासा गरेको थियो । म्यानमारका धेरैजसो बैंकिङ, पर्यटन, घरजग्गा, यातायात, धातुलगायत उद्योगमा एमईएचको सेयर स्वामित्व रहेको छ ।

सन् २०१८ मा एउटा राष्ट्रसंघीय मिसनले रोहिन्ग्या मिसनविरुद्ध अत्याचार गरेको बारे अनुसन्धान गर्दै एमईएचसँगको व्यवसायले मानवअधिकार उल्लंघनलाई योगदान दिने ठहर गरेको थियो । सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा लगानी गरेका धेरै विदेशी कम्पनीमाथि पनि अहिले दबाब परिरहेको छ ।

खासगरी विश्वका मानवअधिकारवादीको उनीहरु तारोमा परेका छन् । म्यानमारमा धेरै संख्यामा तेल र ग्यास कम्पनीले व्यवसाय गरिरहेका छन् । यसबाहेक कार उत्पादक र बैंकहरुमा पनि विदेशी लगानी छ । अधिकारवादीहरुले सैन्य कूअघि नै किरिनलाई पत्र नै पठाएर साझेदारी तोड्न आग्रह गरेका थिए । किरिनको साझेदारी तोड्ने घोषणालाई अधिकारवादीले ठोस निर्णय भन्दै प्रशंसा गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया