Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकालाई पछि पार्दै चीन युरोपको ठूलो व्यापार साझेदार बन्यो

अमेरिकालाई पछि पार्दै चीन युरोपको ठूलो व्यापार साझेदार बन्यो


लन्डन ।
चीनले युरोपेली संघको व्यापारिक साझेदारमा अमेरिकालाई उछिनेको छ । सन् २०२० मा चीन युरोपको ठूलो व्यापार साझेदार बनेको हो । कोरोना महामारीले चपेटेको वर्ष युरोपका मुख्य व्यापार साझेदारसँग व्यापार घटेको थियो तर चीनसँग भने बढेको थियो । चीन र ईयूबीच गत वर्ष सात खर्ब नौ अर्ब अमेरिकी डलरबराबरको व्यापार भएको थियो ।

अमेरिका र ईयूबीच भने छ खर्ब ७१ अर्ब डलरको मात्रै आयातनिर्यात भएको बीबीसीले जनाएको छ । कोरोना चीनबाट सुरु हुँदा सुरुवाती तीन महिनामा भने चीनको अर्थतन्त्र प्रभावित भएको थियो तर पछि लयमा फर्किएको थियो । सन् २०२० मा आर्थिक वृद्धिदर हासिल गर्ने विश्वको मुख्य अर्थतन्त्रमा चीन मात्र एक होा । युरोपमा कार र विलासी वस्तुको उच्च माग बढेपछि चीनले फाइदा उठाएको हो ।

यसबाहेक उक्त वर्ष चीनले युरोपमा बलियो मागका कारण मेडिकल उपकरण र विद्युतीय उपकरणको पनि राम्रै निर्यात गरेको थियो । ईयूको तथ्यांक कार्यालय युरोस्ट्याटका अनुसार सन् २०२० मा चीन ईयूको मुख्य व्यापार साझेदार बनेको थियो । आयात ५.६ प्रतिशतले र निर्यात पनि २.२ प्रतिशतले बढेको युरोस्ट्याटको भनाइ छ ।

उक्त तथ्यांक चीनले जनवरी महिनामा सार्वजनिक गरेको आधिकारिक तथ्यांकसँग पनि मिल्दोजुल्दो देखिएको छ । चिनियाँ तथ्यांकअनुसार ईयूसँगको व्यापार ५.३ प्रतिशतले बढेर छ खर्ब ९६ अर्ब अमेरिकी डलर पुगेको थियो । ईयूको चीनसँगको व्यापारघााटा पनि एक खर्ब ९९ अर्ब डलरबाट बढेर दुई खर्ब १९ अर्ब डलर पुगेको युरोस्ट्याटको सोमबार सार्वजनिक तथ्यांकले देखाएको छ ।

यद्यपि महत्वपूर्ण व्यापार साझेदार रहेका अमेरिका र बेलायत युरोपको ठूलो निर्यात बजार रहेका छन् । तर दुवै देशसँगको व्यापार भने राम्रैसँग घटेको देखिएको छ । अमेरिकासँग युरोपको आयात र निर्यात दुवै घटेको छ । आयात १३.२ प्रतिशतले र निर्यात ८.२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । सन् २०२० मा अमेरिकाको ईयूसँगको व्यापार छ खर्ब ७१ अर्ब डलरको थियो जुन अघिल्लो वर्षको सात खर्ब ४६ अर्ब डलरको तुलनामा कम हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया