Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियनिसानका पूर्वप्रमुखका पत्नीलाई पक्राउ गर्न ‘वारेन्ट’ जारी

निसानका पूर्वप्रमुखका पत्नीलाई पक्राउ गर्न ‘वारेन्ट’ जारी


टोक्यो, पुस २३
निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोसनकी श्रीमती रिता गोसनलाई पक्राउ गर्न टोक्योका मुद्दा अभियोजनकर्ताले पक्राउ पुर्जी जारी गरेका छन् । गत अप्रिलमा गोसनले अदालतमा झूटो बयान दिएको आशंका अभियोजनाकर्ताले गरेका छन् । गत डिसेम्बरमा उनी धरौटीमा रिहा भएका थिए । हाल गोसन लेबनान फरार भएका छन् । गोसन परिवारले भने पक्राउ पुर्जीप्रति चिन्ता व्यक्त गरेका छन् ।

जापानी न्यायिक प्रणाली छलेर लेबनान पुगेका गोसनलाई पुनः जापान ल्याउन प्रयास भइरहेको छ । तर जापानले लेबनानसँग सुपुर्दगी सन्धि गरेको छैन । जापानमा पक्राउ पर्नुअघि गोसन चर्चित कम्पनी निसानका प्रमुख थिए । तर उनीविरुद्ध वित्तीय अपराध गरेको अभियोगमा २०१८ नोभेम्बरमा पक्राउ गरिएको थियो । धरौटीमा रिहा भए पनि गोसनलाई श्रीमतीसँग भेट्न दिइएको थिएन ।

केही दिनअघि मात्रै उनी जापानबाट टर्की हुँदै लेबनान फरार भएका हुन् । उनले आफ्नो जापान बहिर्गमनमा श्रीमतीले कुनै पनि सहयोग नगरेको स्पष्टीकरण दिएका छन् । त्यसो त उनले कम्पनीमा आफूले कुनै अपराध नगरेको समेत बताउँदै आएका छन् । उनले फक्स बिजनेस टिभीसँगको अन्तर्वार्तामा निसान र रेनल्टको मर्जर रोक्न आफूलाई झूटो अभियोग लगाइएको दाबी गरेका छन् । निसानकै कार्यकारी भूमिकामा रहेकाहरुले जापानी अधिकारीलाई सहयोग गरी आफूमाथि झूटो मुद्दा लगाएको उनको भनाइ छ । जापानले उनीविरुद्धको मुद्दा उनले देश छाडे पनि चलिरहने बताएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया