Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान

मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान


नयाँँ दिल्ली ।
भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरुले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।

खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् । निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन/चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिए ।

भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्यांक छ । कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरुको अग्रपङ्तिमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो । ‘दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको छ, यो खोप अधिकांश वृद्धवृद्धालाई नै दिइनेछ’, मन्त्री जवाडेकरले भने ।

उनका अनुसार भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ । भारत आफैँले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन ।

बुधबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा एक सय चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १३ हजार सात सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको यो संख्या अघिल्लो दिनको भन्दा धेरै हो । भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ । यसले अन्तर्राष्ट्रियजगत्मा भारतको छवि थप राम्रो भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया