Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयो वर्ष छ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने चीनको लक्ष्य

यो वर्ष छ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने चीनको लक्ष्य


बेइजिङ ।
सन् २०२१ मा चीनले छ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोना महामारी नियन्त्रणमा पाएको सफलतासँगै उच्चस्तरीय विकासलाई प्राथमिकतामा राख्दै यो वर्ष उक्त दरको वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको हो । चिनियाँ प्रधानमन्त्री लि किक्वाङले राष्ट्रिय सभामा यससम्बन्धी कार्य प्राथमिकताबारे रिपोर्ट प्रस्तुत गरेका छन् जसमा कुल गार्हस्थ्य उत्पादन लक्ष्यलाई मुख्य प्राथमिकतामा राखिएको छ । राष्ट्रिय सभाको वार्षिक सत्र शुक्रबारदेखि सुरु भएको हो ।

‘आर्थिक गतिविधि पुरानै स्वरुपमा फर्किनलागेकाले यो लक्ष्य राखेका हौँ’, प्रधानमन्त्री लीले भने, ‘छ प्रतिशतको लक्ष्यले हामी सबैलाई एकीकृत भएर नयाँ ऊर्जासाथ नवप्रवर्तन, समीक्षा र उच्चस्तरीय विकासमा लाग्न जागरुक बनाउँछ ।’ यो वर्ष चीनले एक करोड १० लाखभन्दा धेरै सहरी रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा घाटाको अनुपान ३.२ प्रतिशत र घरेलु माग विस्तार तथा प्रभावकारी लगानीको लक्ष्य राखेको छ । यसले अर्थतन्त्रलाई महामारीअघिको अवस्थामा पु-याउने उनको भनाइ छ । चीनको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर सन् २०१९ मा छ प्रतिशत थियो ।

सन् २०२१ मा चीनले उच्चस्तरीय विकास, आपूर्ति क्षेत्रको संरचनागत सुधार, कोरोनाविरुद्ध प्राप्त विजयलाई एकढिक्का बनाएर विस्तार गर्ने तथाा आर्थिक र सामाजिक विकासलगायत मुख्य कार्यहरुलाई पछ्याउने रिपोर्टमा उल्लेख छ । यी प्रयासहरुले १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५)को सुरु गर्न सजिलो हुने प्रधानमन्त्री लीको भनाइ छ । चीनले सन् २०२० मा जीडीपीको लक्ष्य नै राखेको थिएन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया