Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानमा विमान दुर्घटना हुँदा १ सय ७६ जनाको मृत्यु

इरानमा विमान दुर्घटना हुँदा १ सय ७६ जनाको मृत्यु


तेहरान, पुस २४
इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, चार जना अफगानिस्तानका नागरिक, तीन जना जर्मनका नागरिक र तीन जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेखेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भ्लदिमिर जेलेन्स्कीले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गर्दै समवेदना पनि व्यक्त गरेका छन् ।

युक्रेनको बोइङ–७३७ विमान बुधबार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको केही बेरमा दुर्घटना भएको थियो । विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य गरी कुल १७६ जना रहेका र उनीहरु सबैको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीले जनाएका छन् । विमानस्थलका प्रवक्ता अलि कसानीले विमानमा रहेका सबैको मृत्यु भएको पुिष्ट गरे । उनले प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि बताए ।

विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई दिँदैनौँ : इरान
यसैबीच, इरानको उड्डयन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ । इरानको नागरिक उड्ययन संगठनका प्रमुख अलि अबेद्जादेहलाई उद्धृत गरी मेहर न्यूज एजेन्सीले उल्लेख गरेको छ, ‘हामीले ‘ब्लाक बक्सहरू’ निर्माण कम्पनी वा अमेरिकालाई दिनेछैनौँ ।’

उनले भने, ‘ब्लाक बक्स अनुसन्धानका लागि कुन देशमा पठाउने भन्ने विषयमा अझै निर्णय गर्न बाँकी छ ।’ युक्रेनको अन्तर्राष्ट्रिय विमान सेवाको उडान नम्बर पीएस७५२ विमानस्थलबाट छुटेको केही समयभित्र दुर्घटना भएको र दुर्घटनाको केही समयभित्र नै ‘ब्लाक बक्स’ भेटिएको इरानले बताएको छ ।

अबेद्जादेहले भने, ‘अन्तर्राष्ट्रिय उड्डयन कानुनमा आधारित भएर इरानले ‘ब्लाक बक्स’ अनुसन्धानका लागि अमेरिकालाई दिने वा नदिने इरानको अधिकारको कुरा हो ।’ इरानी अधिकारीका अनुसार इरानी उड्डयन संगठनले ‘ब्लाक बक्स’को अनुसन्धान गर्नेछ तर यस अनुसन्धानमा यूक्रेनी प्राविधिकहरू उपस्थित रहन सक्नेछन् । ‘ब्लाक बक्स’ को अनुसन्धान र व्याख्याका लागि खासगरी बेलायत, फ्रान्स, जर्मनी र अमेरिका विश्वसनीय मुलुक मानिन्छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया