Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारव्यक्तिगत सम्पत्ति आर्जनमा नयाँ कीर्तिमान

व्यक्तिगत सम्पत्ति आर्जनमा नयाँ कीर्तिमान

जसको खजानामा एकै दिन २५ अर्ब डलर थपियो


अमेरिका ।
विश्वकै सबैभन्दा धनीमा अमेजनका जेफ बेजोससँग प्रतिस्पर्धा गरिरहेका टेस्ला इन्कका एलन मस्कले फेरि अर्को कीर्तिमान बनाएका छन् । उनको सम्पत्ति एकै दिन २५ अर्ब अमेरिकी डलरले बढेको हो ।

छिटो सम्पत्ति आर्जनमा यो नयाँ कीर्तिमान हो । मंगलबार टेस्लाको सेयर २० प्रतिशतले बढेपछि मस्कको सम्पत्तिमा एकै दिन २५ अर्ब डलर थप भएको हो । सेयर मूल्यवृद्धि यो एक वर्षयताकै ठूलो हो । योसँगै मस्कको सम्पत्ति एक खर्ब ७४ अर्ब अमेरिकी डलर पुगेको छ । यद्यपि ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार अहिले बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति हुन् ।

रातारात नास्डाक ३.७ प्रतिशतले उकालो लागेसँगै एप्पल, अमेजन, फेसबुक लगायतका ठूला प्रविधि कम्पनीहरु मालामाल भएका छन् । अमेजनको सेयर बढ्दा बेजोसको सम्पत्ति छ अर्ब डलरले बढेको छ । योसँगै उनी एक खर्ब ८० अर्ब डलरका मालिक बनेका छन् । जनवरीमा बेजोसलाई संसारकै धनीबाट एलन मस्कले पछाडि पारिदिएका थिए । उक्त सूचकांकअनुसार मस्कको सम्पत्ति बढेर दुई खर्ब १० अर्ब डलरसम्म पुगेको थियो ।

मंगलबार टेस्लाको सेयर २० प्रतिशतले बढेको थियो । केही दिनयता घटिरहेको टेस्लाको सेयर पुनः आकाशिएको हो । चीनमा बिक्री बढेको कारण सेयर मूल्यवृद्धिमा प्रभाव पारेको बताइएको छ । टेस्लाको एक कित्ता सेयरको मूल्य अहिले छ सय ७३ दशमलव ५८ अमेरिकी डलर पुगेको छ । यो गत फेब्रुअरीयताकै बलियो स्थिति हो । कम्पनीले फेब्रुअरीमा चीनमा बनेका १८ हजार तीन सय १८ वटा कार बिक्री गरेको छ । जनवरीमा १५ हजार चार सय ८४ वटा कार बिक्री गरेको चिनियाँ अटो उद्योग संस्था सीपीसीएले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया