अमेरिकामा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत
वासिङ्टन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस)ले अनुमोदन गरेको छ । एपीका अनुसार राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन् । बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कंग्रेसबाट उक्त विधेयक पारित भएको छ तर कंग्रेसमा भएको मतदानमा २२०–२११ मत खसेको थियो । अर्थात् कंग्रेसमा बहुमतमा रहेका डेमोक्रेट सदस्यहरुले विधेयकको पक्षमा मतदान गरेका भए पनि रिपब्लिकन पार्टीले विपक्षमा मतदान गरेको थियो ।
यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिन अघि बहुमतका आधारमा पारित गरिसकेको छ । अमेरिकी श्रमिकको प्रतिघण्टा पारिश्रमिक १५ डलर पु¥याउने प्रस्तावलाई विधेयकबाट हटाइए पनि सिनेटमा रिपब्लिकन पार्टीका सदस्यहरुले विधेयकको विपक्षमा मतदान गरेका थिए । कंग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति बाइडेनले ट्वीट गर्दै कंग्रेसलाई धन्यवाद दिएका थिए । उनले विधेयकमा यही शुक्रबार हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउनेछ ।
प्रस्तावित विधेयकमा निकै महत्वपूर्ण मानिएको विषय हो अधिकांश अमेरिकी नागरिकलाई एक हजार चार सय डलर उपलब्ध गराउने । यसबाहेक हरेक साता ३०० डलर आपतकालीन बेरोजगार भत्ता आगामी सेप्टेम्बरसम्म उपलब्ध हुनेछ । तर यो विधेयकले त्यतिमात्र कुरा समेटेको छैन । यो विधेयकले डेमोक्रेटले चुनावमा व्यक्त गरेका प्रतिज्ञा र बाइडेनको सर्वाधिक प्राथमिकतामा मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुबै समेटेको छ । अमेरिकामा कोरोनाभाइरस महामारीले सिर्जना गरेको मानवीय क्षति र आर्थिक क्षति निकै कहालीलाग्दो अवस्थामा पुगिसकेको बाइडेनको ठहर छ । यसलाई सम्बोधन गर्न प्रभावकारी कदम जरुरी भइसकेको बाइडेनले बताउँदै आएका छन् ।
संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को संक्रमणबाट पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । अमेरिकी कंग्रेसकी सभामुख नान्सी पेलोसीले पनि कोरोनाभाइरस महामारीका कारण देशका सामुन्ने उत्पन्न समस्या सम्बोधन गर्न सरकार र संसद एकै ठाउँमा आएकामा आभार व्यक्त गरे । बाइडेन प्रशासनले अघि सारेको १९ खर्ब डलरको राहत योजनाले कोभिड–१९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने विश्वास लिएको छ ।
देशको ऋणभार २२ ट्रिलियन डलर पुगे पनि डेमोक्रेट र रिपब्लिकन पार्टीले यसप्रति खासै वास्ता गरेका छैनन् । करिब ६२८ पृष्ठ लामो यो विधेयकले खासगरी न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारको प्रयत्न समेटेको छ । बालबच्चा, बालस्याहार र पारिवारिक विदा बस्दा करछुट दिने समयावधि अहिले बढाइएको छ, र कतिपय डेमोक्रेट सदस्यहरु यो व्यवस्थालाई स्थायी रुपमै उपलब्ध गराउन प्रयासरत छन् ।
प्रत्यक्ष भुक्तानी र बेरोजगार भत्ताका अलावा यस विधेयकले कोभिड–१९ को खोप र उपचार, स्कुल, राज्य र स्थानीय सरकार तथा विमानसेवादेखि कन्सर्ट हलसम्मका संकटग्रस्त उद्योग, व्यवसायका लागि अर्बौं डलरको व्यवस्था गरिएको छ । साथै किसानहरुलाई राहत, निवृत्तिभरण प्रणाली र विद्यार्थी ऋण तथा स्वास्थ्य बीमा खरिद गर्नेहरुका लागि अनुदान तथा थोरै आर्जन गर्नेहरुका लागि मेडिकेड खरिद गर्न राज्यहरुलाई रकम उपलब्ध गराउने प्रावधान नयाँ विधेयकमा छ ।
तर यी निकै राम्रा प्रावधानहरु प्रस्तावित राहत प्याकेजमा समेटिए पनि रिपब्लिकनहरु त्यति खुुसी छैनन् । उनीहरुको भनाइमा अतिरिक्त खर्चले राष्ट्रमाथि अतिरिक्त बोझ सिर्जना गर्नेछ । यद्यपि राष्ट्रव्यापी जनमत सर्वेक्षणहरुले बाइडेनको राहत प्याकेजलाई डेमोक्रेट र स्वतन्त्र व्यक्तिसहित कैयौं रिपब्लिकनले समर्थन गरेको देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया