Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारडार्कनेटमा बिक्री हुँदै कोरोना खोप र खोप पासपोर्ट

डार्कनेटमा बिक्री हुँदै कोरोना खोप र खोप पासपोर्ट


लन्डन ।
कोरोना भाइरसविरुद्धका खोपहरु, खोप लगाएको प्रमाणित गर्ने पासपोर्ट र झूठा नेगेटिभ टेस्ट पेपपरहरु डार्कनेटमा बिक्री हुने गरेको खुलासा भएको छ । अस्ट्राजेनेका, स्पुतनिक, सिनोफार्म र जोन्सन एन्ड जोन्सनको खोपको मूल्य डार्कनेटमा पाँच सय अमेरिकी डलरदेखि साढे सात सय डलरसम्म छ । खोप लगाएका झूठा प्रमाणपत्र समेत अज्ञात व्यापारीहरुले कम्तीमा डेढ सय अमेरिकी डलरसम्म बिक्री गर्ने गरेका छन् । अनुसन्धाताका अनुसार खोपसम्बन्धी विज्ञापनहरु डार्कनेटमा अत्यधिक वृद्धि भएको छ ।

बीबीसीले ती खोपहरु साँच्चै वास्तविक हुन् भन्ने प्रमाण नभएको जनाएको छ । डार्कनेटलाई डार्क वेबका रुपमा पनि चिनिन्छ । यो भनेको इन्टरनेटकै एक भाग हो । तर यो विशेष ब्राउजर टुल्समार्फत मात्रै पहिल्याउन सकिन्छ । साइबर सुरक्षासम्बन्धी कम्पनी चेकप्वाइन्टका अनुसन्धाताले ह्याकिङ फोरम र मार्केटप्लेसको अनुगमन गरिरहेका छन् ।

जनवरीदेखि भइरहेको अनुगमनमा पहिलोपटक खोपका विज्ञापन उनीहरुले भेटेका थिए । उनीहरुका अनुसार कयौँ विज्ञापनहरु बढ्दो क्रममा छन् । डार्कनेटमा खोप बिक्री गर्नेहरु भने बेलायत, अमेरिका, स्पेन, जर्मनी, फ्रान्स र रुसका रहेको बताइएको छ । अनुसन्धाता टोलीले धेरै विज्ञापनहरु रुसी साइरिलिक अक्षर र अंग्रेजीमा रहेको भेटेका छन् । विज्ञापन गरिएका खोपहरुमा भने अक्सफोर्ड–अस्ट्राजेनेका (५ सय डलर) र जोन्सन एन्ड जोन्सन तथा स्पुतनिक प्रत्येकको छ सय अमेरिकी डलर मूल्य छ । सिनोफार्मको साढे सात सय डलर मूल्य राखिएको छ । एक जना बिक्रेताले त एकै दिनमा चाहिएको ठाउँमा खोप ल्याइदिने समेत दाबी गरेका छन् ।

त्यस्तै कतिपय ह्याकिङ फोरमका विज्ञापनमा झूठा नेगेटिभ टेस्ट बिक्रीमा रहेका छन् । विदेश जाने यात्रुलाई लक्षित गरी यस्ता टेस्टहरु दुई किन्दा एक सित्तैमा रहेको अफर गरिएको छ । कतिपय भने खोप लगाएको झूठा प्रमाणपत्र समेत बिक्रीमा राखिएका छन् । बेलायतमा खोप लगाएको प्रमाणका लागि भ्याक्सिन पासपोर्टको कुरा चलिरहेको छ ।

युरोपेली अधिकारीहरुले ग्रिन डिजिटल सर्टिफिकेट लागू गर्ने केही दिनअघि मात्रै बताएका थिए । तर यसको दुरुपयोग हुनसक्ने प्रबल सम्भावना डार्कनेटका यस्ता विज्ञापनहरुले देखाएका छन् । डार्कनेट प्रयोगकर्ताले यी कार्यको भुक्तानी भने बिटक्वाइनमार्फत गर्नखोजेको देखिएको छ । जुन कहाँ कसले सञ्चालन गरिरहेको छ भनेर थाहा पाउनै मुस्किल हुन्छ । चेकप्वाइन्टले यसलाई रोक्न क्युआर कोड प्रणाली लागू गर्न देशहरुलाई सुझाव दिएको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया