Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले भारतबाट ५० हजार टन चामल आयात गर्ने

बंगलादेशले भारतबाट ५० हजार टन चामल आयात गर्ने


ढाका ।
बंगलादेशले भारतबाट ठूलो परिमाणमा चामल आयात गर्ने भएको छ । त्यहाँको सरकारले भारतबाट ५० हजार टन आयात गर्ने निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । देशको खाद्य भण्डार बढाएर मूल्य स्थिर राख्न सरकारले यस्तो निर्णय गरेको बताइएको छ । सरकारी खरिदसम्बन्धी क्याबिनेट कमिटीले खाद्य विभागको प्रस्ताव स्वीकृत गरेको हो । बंगलादेशले गैरबासमती उसिनेको चामल किन्नलागेको हो । एम/एस पीके एग्रि लिंक प्राइभेट लिमिटेडबाट एक अर्ब ७७ करोड टाका (बंगलादेशी मुद्रा) बराबरको चामल भारतबाट किन्न लागेको हो ।

बंगलादेशी अर्थमन्त्री एएचएम मुस्ताफा कमलको नेतृत्वमा बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । खाद्य मन्त्रालयका अधिकारीहरुले चामल आयातका लागि भारतसहित म्यान्मार र थाइल्यान्डसँग सम्पर्क गरेका थिए । त्यसमा भारतबाट चामल आयात सस्तो पर्ने भएपछि अन्तिम निर्णय भएको हो । खरिद गर्नलागेको चामल करिब चार सय ३० अमेरिकी डलर प्रतिटन मूल्य पर्ने बताइएको छ ।

हालसम्म बंगलादेशले कुल १३ लाख टन चामल आयातको कदम चालिसकेको छ । गत मार्च १० मा पनि भारत, थाइल्यान्ड र भियतनामबाट जीटुजी मोडलमा साढे तीन लाख टन चामल आयात गर्न सरकारले स्वीकृति दिएको थियो । त्यस्तै यही महिनाको सुरुवाती हप्तातिर बंगलादेशले अन्तर्राष्ट्रिय खुला बोलपत्र आह्वान गरी साढे पाँच लाख टन चामल आयात गर्ने निर्णय गरेको थियो । गत महिना चार लाख टन चामल आयातको लागि कम्पनीसँग छुट्टाछुट्टै सम्झौता भएको बताइएको छ । त्यसमध्ये तीन लाख टन चामल अन्तर्राष्ट्रिय टेन्डरमा किनिने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया