Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनसँगको व्यापार र मानवअधिकारको विषयलाई अलग्याउन अमेरिकालाई बोइङको आग्रह

चीनसँगको व्यापार र मानवअधिकारको विषयलाई अलग्याउन अमेरिकालाई बोइङको आग्रह


अमेरिका ।
चर्चित विमान निर्माता कम्पनी बोइङले चीनसँगको मानवअधिकार र अन्य विवादलाई व्यापार सम्बन्धसँग नजोड्न आग्रह गरेको छ । उसले आफू चीनबाट बाहिरिएमा त्यसको फाइदा युरोपेली विमान निर्माता एयरबसले पाउने चेतावनी समेत दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी डेभ कलहनले एउटा अनलाइन बिजनेस फोरममा अमेरिकी सरकारसमक्ष यस्तो आग्रह गरेको रोयटर्सले जनाएको छ । उनले युरोपसँगको कम्पनीलाई दिने सहुलियतसम्बन्धी १६ वर्ष लामो विवाद अन्त्य हुने पनि आशा गरे । उनले नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनलाई चीनसँग राजनीतिक रुपमा कठिन समय भएको बताउँदै यसका बाबजुद चीनसँग व्यापार गर्नैपर्ने बाध्यता रहेको बताए ।

यूएस चेम्बर अफ कमर्स एभिएसन समिटमा बोल्दै उनले चीन अमेरिकाको विश्वमै ठूलो व्यापार साझेदार भएको बताए । उनले व्यापारसँग बौद्धिक सम्पत्ति, मानवअधिकार र अन्य विवाद जोड्न नहनुे बताए । बोइङ प्रमुखले यस्तो टिप्पणी गर्नुलाई अर्थपूर्ण मानिएको छ । बोइङसँगै युरोपेली एयरबसले बेच्ने चार भागको एक भाग चीनमै बिक्री गर्ने गरेका छन् । चीनले विश्वकै ठूलो घरेलु यात्रा बजारबाट अमेरिकालाई पाखा लगाइसकेको छ । चीनले एकैपटक ठूलो संख्यामा अमेरिकी वा युरोपेली कूटनीतिज्ञको भ्रमणका बेला विमान किन्ने गरेको छ ।

१८ महिना लामो चीन–अमेरिका व्यापारयुद्धपछि बोइङले चिनियाँ बजारको सेयर हिस्सालाई लिएर पटक पटक प्रश्नको सामना गर्नुपरेको छ । बितेका वर्षमा चीनले जेट विमान खरिद कम गरिरहेको छ । बेइजिङले पश्चिमा राष्ट्रबाट जातीय र धार्मिक अल्पसंख्यकमाथि गरेको व्यवहारलाई लिएर आलोचना खेप्दै आएको छ । खासगरी सिन्जियाङका उइगुर मुस्लिममाथि न्यायपूर्ण व्यवहार नगरेको पश्चिमा राष्ट्रले आरोप लगाउँदै आएका छन् । चीनले पश्चिमा राष्ट्रले लगाएका आरोपको खण्डन गर्दै आएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया