Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा ह्वात्तै बढ्यो कार बिक्री

पाकिस्तानमा ह्वात्तै बढ्यो कार बिक्री


इस्लामावाद ।
गह्रुंगा सवारीसाधनलाई छोडेर पाकिस्तानमा अन्य समग्र अटो क्षेत्रको बिक्री चालू आर्थिक वर्षको नौ महिनायता ह्वात्तै बढेको छ । यसमा कार बिक्री ह्वात्तै बढेको पाकिस्तानी मिडियाले जनाएका छन् । कार बिक्री ३१ दशमलव पाँच प्रतिशतले बढेको डन अनलाइनले समाचारमा जनाएको छ । त्यस्तै जिपको बिक्री एक सय ५७ दशमलव छ प्रतिशतले बढेको छ । त्यस्तै हलुका व्यावसायिक सवारीसाधन/पिकअपको बिक्री ४१ दशमलव चार प्रतिशतले बढेको छ भने ट्र्याक्टरको बिक्री ५७ दशमलव दुई प्रतिशतले र दुई/तीन पांग्रे सवारीसाधनको बिक्री २२ प्रतिशतले बढेको बताइएको छ ।

पाकिस्तानस्थित एटलास होन्डा लिमिटेडले कीर्तिमानी दरमा दुई पांग्रे सवारीसाधनको उत्पादन र बिक्री गरेको छ । यसमा एक लाख २५ हजार चार सय ४२ वटा उत्पादन र एक लाख २५ हजार ३० वटा बिक्री समावेश छ । यो मार्च महिनाको तथ्यांक हो । अघिल्लोपटक कम्पनीले सन् २०२० को अक्टोवरमा एक लाख १५ हजार २४ वटा उत्पादन र एक लाख १६ हजार युनिट बिक्री गरेको थियो ।

नौ महिनामा कम्पनीले नौ लाख ६१ हजार ७६ वटा मोटरसाइकल बिक्री गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या सात लाख ६८ हजार नौ सय ७४ युनिट थियो । त्यस्तै उक्त अवधिमा पाकिस्तानमै एसेम्बल गरिएका एक लाख १२ हजार दुई सय ४४ कार बिक्री भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ८५ हजार तीन सय ३० वटा कार बिक्री भएको थियो । यी तथ्यांकले अटो क्षेत्र चलायमान रहेको देखिएको छ ।

पाकिस्तान अटोमोटिभ म्यानुफ्याक्चरर्स एसोसिएसनको तथ्यांकअनुसार सुजुकी अल्टो ६६० सीसीको बिक्री बढेर २९ हजार ३८ पुगेको छ । सोही समयावधिमा गत वर्ष २७ हजार नौ सय ५६ वटा मात्रै बिक्री भएको थियो । यता होन्डा सिभिक÷सिटीको बिक्री पनि बढेर १८ हजार आठ सय १६ युनिट पुगेको छ । अघिल्लोपटक यस्तो दर ११ हजार नौ सय ८९ युनिट थियो । सुजुकी स्विफ्टको बिक्री पनि एक हजार पााँच सय ४८ युनिटबाट बढेर एक हजार आठ सय ९६ युनिट पुगेको छ ।

त्यस्तै टोयोटा कोरोलाको बिक्री भने गत वर्षको नौ महिनाको २० हजार नौ सय ९१ बाट घटेर १३ हजार दुई सय ५५ युनिटमा सीमित भएको छ । तर टोयोटा यारिसको बिक्री भने २१ हजार सात सय २० वटा पुगेको छ । यसको बिक्रीले कोरोलामाथि दबाब सिर्जना गरेको बताइएको छ । यसबाहेक सुजुकी कल्टस र बोलानको बिक्री बढेको छ ।

यता जिप र पिकअप सेग्मेन्टमा होन्डा बीआर–भी, सुजुकी रवि र टोयोटा हाइलक्सको बिक्री बढेर क्रमशः दुई हजार आठ सय ८२, सात हजार छ सय छ र पाँच हजार दुई सय ४६ युनिट पुगेको छ । समग्रमा यीबाहेक फार्म मेसिनरी सवारीसाधन, दुई पांग्रे र तीन पांग्रे सवारीसाधनको बिक्री पनि बढेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया