Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको जीडीपी १८.३ प्रतिशत वृद्धि

चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि


बेइजिङ ।
चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तीव्रगतिमा वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तीव्र विकास भएको हो ।

चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् । यद्यपि, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो । सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको उहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो ।

राष्ट्रिय तथ्यांक ब्युरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिए । ‘अघिल्लो वर्षको तुलनामा जीडीपीमा तीव्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जीडीपीमा न्यून वृद्धि पनि हो’, उनले भने । गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्यांकले देखाएको छ ।

औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो । प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताए ।

विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् । चीनमा सहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा सहरी बेरोजगारी ५.३ प्रतिशतको हाराहारीमा रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया