Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगत वर्ष झण्डै १६ करोड मानिसले सामना गरे गम्भीर भोकमरी : संयुक्त राष्ट्रसंघ

गत वर्ष झण्डै १६ करोड मानिसले सामना गरे गम्भीर भोकमरी : संयुक्त राष्ट्रसंघ


संयुक्त राष्ट्रसंघ ।
संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।

उक्त प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ मुलुकलाई केन्द्रित गरेको राष्ट्रसंघको भनाइ छ । प्रतिवेदनले गत वर्ष उत्पन्न खाद्य संकटको आकार र कठिनाइ खासगरी दीर्घकालीन द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औँल्याएको छ । एपीका अनुसार सन् २०१९ मा करिब २ करोड मानिसले खाद्य संकट व्यहोर्नुपरे पनि सन् २०२१ मा झण्डै १६ करोड मानिसले संकट, आपत्काल वा भोकमरीको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार, भयानक संकटबाट गुज्रिरहेका विश्वका १० वटा मुलुकका झण्डै दुई तिहाइ जनताले चरम खाद्य संकट झेलेका छन् जसमा कंगो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, साउथ सुडान, जिम्बाबे र हैटी रहेका छन् । बुर्किना फासो, साउथ सुडान र यमनका करिब एक लाख ३३ हजार मानिसले भोकमरीबाट अतिशय पीडामा छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ३०७ पृष्ठको ‘ग्लोबल रिपोर्ट अन फूड क्राइसिस’ अर्थात् विश्वको खाद्य संकट प्रतिवेदनको भूमिका लेख्दै भनेको छ, ‘चरम खाद्य असुरक्षा सामना गरिरहेका र खाद्यान्न, पोषण र जीविकोपार्जनको अति जरुरी परेका मानिसको संख्या बढ्दो क्रममा छ ।’ उनले भनेका छन्, ‘अकाल र भोकमरिको एक्काइसौं शताब्दीमा कुनै स्थान छैन । हामीले भोक र द्वन्द्व दुवैलाई एकैसाथ समाधान गर्नुको विकल्प छैन ।’

विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसैनले पाँचौं वार्षिक प्रतिवेदन सार्वजनिक गर्नेक्रममा आयोजित पत्रकार सम्मेलनमा खाद्य संकट निम्तिनुमा प्रमुख रुपमा द्वन्द्व नै जिम्मेवार रहेको बताए । उनले गत वर्ष विश्वका २३ राष्ट्रका झण्डै १० करोड मानिसले खाद्य संकट व्यहोरेको जानकारी दिए । ‘हामीले द्वन्द्वको राजनीतिक समाधान नखोज्दासम्म मानवीय सहायता चाहिने मानिसको संख्यामा कुनै कमी आउने देखिन्न’, उनले भने । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया