Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित गरेको चीनको घोषणा

अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित गरेको चीनको घोषणा


बेइजिङ ।
चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।

साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ । बिहीबारको नयाँ घोषणाले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने संकेत गरेको छ । सांकेतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया–प्रशान्त क्षेत्रसम्बन्धी अस्ट्रेलियाली कूटनीतिका जानकार केटलिन बायर्नले बताइन् । उनका अनुसार दुवै मुलुकबीच सन् २०१७ यत कुनै छलफल नै भएको छैन ।

चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामानको आयात रोक्का गरेपछि दुवै देशबीचको सम्बन्ध निकै तल्लोस्तरमा पुगेको छ । चीनले एकपछि अर्को दबाब दिए पनि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सरकार टसमस भएको छैन । अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयकी निर्देशक बायर्नले भनिन्, ‘यो साँच्चिकै महत्वपूर्ण र सांकेतिक कदम हो, तर सारभूत रुपमा हेर्दा यसको असर सीमित मात्र छ ।’

चीन सरकारले अस्ट्रेलियामाथि शीतयुद्धकालीन मानसिकता र वैचारिक विभेदका कारण सम्बन्ध सामान्यीकरणलाई बेवास्ता गरिरहेको आरोप लगाएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अस्ट्रेलिया रणनीतिक आर्थिक संवाद अन्तर्गत सबै क्रियाकलापहरु अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ ।

चीनले यस्तै संवादहरु अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकसँग गर्दै आएको छ जसमा व्यापार विवाद र अन्य आर्थिक मुद्दाहरुमाथि छलफल हुने गरेको छ । ‘यो दुर्भाग्यपूर्ण हो । हामीले चीनसँग संवाद गरेकै राम्रो हो’, अस्ट्रेलियाका विपक्षी नेता एन्थोनी अल्बानेसले सिड्नीमा भने, ‘यो चीनको मामिला मात्र होइन, दुवै मुलुकसँग यो सम्बन्धित छ ।’

चीनको अस्ट्रेलिया, भारत र कतिपय अन्य छिमेकी मुलुकसँगको सम्बन्ध पछिल्ला केही वर्षदेखि समस्याग्रस्त बन्दै गएको छ । चीनले अस्ट्रेलिया र पश्चिमा प्रजातन्त्रवादी मुलुकहरुसँग पनि चीनले आफ्नो राजनीतिक प्रभाव देखाउन खोजेको छ । गत वर्ष चीनले अस्ट्रेलियाबाट हुने अधिकांश वस्तुको आयात रोक्ने घोषणा गरेको थियो । खासगरी कोरोनाभाइरसको उत्पत्तिलाई लिएर चीनमाथि छानबिन गर्नुपर्ने अस्ट्रेलियाले माग गरेपछि विवाद चर्किएको हो ।

चिनियाँ मन्त्रीहरुले अस्ट्रेलियाली समकक्षीले गरेका फोन समेत लिन अस्वीकार गरेका थिए । अस्ट्रेलियाली व्यापार मन्त्री डान टेहानले एक विज्ञप्ति नै प्रकाशन गरी चिनियाँ रबैयाप्रति निराशा व्यक्त गरेका छन् । उनले भने, ‘हामी संवादका लागि खुला छौं र मन्त्री स्तरमा छलफल गर्न तयार छौँ ।’

अस्ट्रेलियाली सामानको पहिलो बजार चीन हो, तर प्रतिबन्धहरुले खासै असर नपरेको दुबै देशको भनाई छ । किनभने चीनका स्टिल मिलले अझै पनि अस्ट्रेलियाली फलाम आयात गरिरहेका छन् । अस्ट्रेलियाबाट निकासी हुने सबैभन्दा मूल्यवान धातु पनि फलाम नै हो ।

गत महिना, अस्ट्रेलिया सरकारले भिक्टोरिया राज्यले चीनको ‘बेल्ट एन्ड रोड (बीआरआई)’ सँग गरेको दुई वटा सम्झौता रद्द गरिदिएको थियो । अस्ट्रेलियाली विदेशमन्त्रीले अस्ट्रेलियाको उक्त कदम कुनै एक राष्ट्रपति लक्षित नरहेको बताएका थिए, तर चीनले अस्ट्रेलियाको उक्त निर्णयको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया