Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोभिड संक्रमित घट्नथाले

भारतमा कोभिड संक्रमित घट्नथाले

२४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको पाइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख २९ हजार नौ सय ४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड २९ लाख ९२ हजार पुगेको छ ।

यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप तीन हजार आठ सय ७६ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ४९ हजार नौ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा हाल ३७ लाख १५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । मन्त्रालयका अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियान मार्फत् हालसम्म १७ करोड २० लाख व्यक्ति लाभान्वित भएका छन् ।

गत मे १ तारिखबाट सुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ । यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३० करोड नमूना परीक्षण गरिएको जनाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया