Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ५० प्रतिशतले अझै मास्क लगाउँदैनन् : अध्ययन

भारतमा ५० प्रतिशतले अझै मास्क लगाउँदैनन् : अध्ययन


नयाँ दिल्ली ।
भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ ।
राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, ‘हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।’ उनले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिए ।

देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु रहेको पनि उनले बताए । सहसचिव अग्रवालका अनुसार अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय संक्रमितहरु रहेका छन् । कर्णाटक, पश्चिम बंगाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा संक्रमण नै देखिने गरेको उनले बताए ।

‘कुनै एउटा व्यक्तिले सामाजिक दूरी कायम गरेन भने औसतमा एक महिनामा चार सय छ जनालाई संक्रमित गराउन सक्ने देखिएको छ’, उनले भने । अध्ययनका आधारमा पनि उनले सामाजिक दूरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिए । भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउनसकेको छैन । विगत २४ घण्टामा थप चार हजार दुई सय नौ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट दुई लाख ९१ हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोरोनाभाइरसको दोस्रो लहर सुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सरकारले सार्वजनिक गरेको विवरणभन्दा बढी हुनसक्ने विज्ञहरुले दाबी गरेका छन् ।

भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या भने घटेको देखिएको छ । भारतमा अझै पनि ३० लाख २७ हजार नौ सय २५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता दुई करोड ६० लाख ३१ हजार नौ सय ९१ जना कुल संक्रमित भेटिएका र त्यसमध्ये दुई करोड २७ लाख १२ हजार सात सय ३५ जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया