Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले चीनबाट डेढ करोड सिनोफार्म खोप किन्ने

बंगलादेशले चीनबाट डेढ करोड सिनोफार्म खोप किन्ने


ढाका ।
बंगलादेशले चीनबाट डेढ करोड कोरोनाविरुद्धको खोप खरिद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको खोपको पहिलो खेप जुनसम्ममा ढाका आइपुग्ने विदेशमन्त्री एके अब्दुल मोमेनले मंगलबार जानकारी दिएको बंगलादेशी मिडियाले जनाएका छन् ।

खोप खरिदको लागि भइरहेको द्विपक्षीय छलफल समेत सकारात्मक दिशामा अगाडि बढेको मन्त्री मोमेनले बताएका छन् । राष्ट्रसंघीय महासभाका अध्यक्षा वल्कन बोज्करसँगको बैठकका क्रममा पत्रकारसँग उनले भने, ‘खरिद सम्झौता लगभग अन्तिम भइसकेको छ, चाँडै पूर्णता पाउँदै छ ।’

नयाँ संक्रमित थपिने क्रम बढ्दै गर्दा चिनियाँ खोप खरिदको प्रक्रियाबारे गहन छलफल भएको होा । विदेशमन्त्री मोमेनका अनुसार बंगलादेशले डेढ करोड खोप खरिद गर्न लागेको हो । सुरुमा प्रतिमहिना ५० लाख खोप जुन, जुलाई र अगस्ट महिनामा आउनेछ । यसको लागि कागजपत्र समेत तयार भइसकेको छ ।

मन्त्री मोमेनले आफूले चिनियाँ विदेशमन्त्री वांग यीसँग गत हप्ता फोनमा कुरा गरेको बताउँदै वांगले असल मित्र बंगलादेशलाई खोप उपलब्ध गराउने आश्वासन दिएको समेत बताएका छन् । त्यस्तै उनले चीनमै विकास भएको अर्को खोप सिनोभ्याकलाई आकस्मिक प्रयोगको अनुमति दिइएको बताए । एक हप्ताभित्र एक चिनियाँ टोली बंगलादेश आएर स्थानीय रुपमै खोप उत्पादनको लागि सम्भाव्यता अध्ययन गर्नलागेको उनले जानकारी दिए ।

यता बंगलादेशले रुससँग पनि खोप खरिदको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ । त्यसबाहेक कोभ्याक्सबाट पनि बंगलादेशले खोप पाउनेछ । सोही कारण खोपको कारण आगामी दिनमा समस्या नहुने बताइएको छ । भारतले खोप नदिएपछि बंगलादेशले चीन र रुससँग खोप खरिद गर्न लागेको हो । भारतले मार्चमा खोप निर्यातमा रोक लगाएको छ । बंगलादेशले भारतको सेरम इन्स्टिच्युटसँग तीन करोड खोप खरिदको सम्झौता गरेको थियो । जसमध्ये एक करोड दुई लाख खोप मात्रै निर्यात भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया