Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा संक्रमित ह्वात्तै घटे २४ घण्टामा ३४ सयको मृत्यु

भारतमा संक्रमित ह्वात्तै घटे २४ घण्टामा ३४ सयको मृत्यु


नयाँ दिल्ली ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चार लाखभन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सिन्ह्वाका अनुसार योसहित भारतमा आइतबारसम्म कूल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय संक्रमितको संख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ । विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् । तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तीव्र सुधार हुनसकेको छैन । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन हजार चार सय ६० जनाको ज्यान गएको छ । योसहित भारतमा कुल मृतकको संख्या तीन लाख २५ हजार नौ सय ७२ पुगिसकेको छ ।

कोरोनाभाइरस महामारीबाट आम जनतालाई सुरक्षित राख्न गत जनवरीदेखि नै खोप अभियान सञ्चालन गरेको भारतले देशभर हालसम्म २१ करोड २० लाख डोज खोप लगाएको छ । शनिबार एकै दिन भारतमा ३० लाख भन्दा बढी व्यक्तिलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतले हाल १८ वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिलाई खोप दिइरहेको छ । तर खोपको माग तीव्र भए पनि आपूर्ति त्यस अनुरुप हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसैबीच, भारत सरकारले देशभर कोभिड–१९ को परीक्षणलाई तीव्र बनाएको छ । शनिबारसम्म भारतमा ३४ करोड ३२ लाख नमूना परीक्षण गरिएको छ जसमध्ये शनिबार एकै दिन २० लाख ६३ हजार नमूना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

भारतमा हाल तीन किसिमका खोप प्रयोगमा ल्याइएको छ । भारत सरकारले सेरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको कोभिसिल्ड, कोभ्याक्सिन र रसिया–निर्मित स्पुतनिक भी खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । कतिपय राज्यमा भारत सरकारले निःशुल्क खोपको व्यवस्था गर्नुका साथै निजी संस्थाबाट खोप बिक्रीका लागि अनुमति दिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया