Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाको बजेट ६० खर्ब डलर प्रस्ताव

अमेरिकाको बजेट ६० खर्ब डलर प्रस्ताव

सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि


वासिङटन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रबार प्रस्ताव गरेको छ ।

बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

कोभिड–१९महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पु-याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए ।

बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने’ दावी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति बनेका बाइडेनले दाबी गरेका छन् ।

यो वर्षको अनुमानित घाटा ३.७ ट्रिलियन पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा १.८ ट्रिलियनमा झर्ने उल्लेख गरिएको छ । यो महामारीभन्दा पहिलेको अवस्थाभन्दा झण्डै दोब्बर हो । कोभिड–१९ महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । त्यसैले सरकारले आफ्नो खर्चको प्रति डलरमा ५० सेन्ट उधारो लिनुपर्नेछ ।

बजेट घाटालाई रोक्न असफल भएपछि बाइडेनले व्यवसाय र उच्च कमाई भएका व्यक्तिहरूमा प्रस्तावित कर वृद्धि गर्ने योजना प्रयोग गरेका छन् । जसले विश्वभरका पूर्व–प्राथमिक र बाल हेरचाहको लागि ठूलो अनुदान र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा दिइने ‘ग्यारेन्टेड’ भुक्तानी विदा जस्ता नयाँ नयाँ सामाजिक कार्यक्रमहरू लाई मजबुत पार्न सहयोग दिने अपेक्षा गरिएको छ ।

बाइडेनले आफ्नो बजेटबारे भने, ‘हाम्रो अर्थतन्त्रको विकास गर्ने सबैभन्दा राम्रो तरिका माथिबाट तल हो तर तलबाट माथि हैन । हाम्रो समृद्धि ती मानिसहरूबाट आउँदछ जो दिनहुँ सबैरै उठ्छन्, कडा परिश्रम गर्छन्, आफ्नो परिवार बढाउँछन्, कर तिर्छन्, राष्ट्रको सेवा गर्छन्, र तिनीहरूको समुदायमा स्वयंसेवा गर्छन् ।’

बजेटमा आठ सय अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ ऊर्जामा लगानी गनैका लागि छुट्याइएको छ भने दुई सय अर्ब तीन–चार वर्षका पूर्वप्राथमिक विद्यालयमा जाने उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न र एक सय नौ अर्ब डलर सम्पूर्ण अमेरिकीको दुई बर्षे निःशुल्क सामुदायिक कलेज खर्च र दुई सय २५ अर्ब डलर परिवार भत्ता र चिकित्सकीय विदामा खर्चिने बताइएको छ ।

बाइडेनले एक सय १५ अर्ब डलर सडक र पुल निर्माणका साथै एक सय ६० डलर सार्वजनिक यातायात र रेल सेवा सुधारका लागि छुट्याइएको छ भने एक खर्ब डलर ब्रोडब्याण्ड इन्टरनेट पहुँचमा सुधारका लागि खर्चिने बताइएको छ ।

बजेट कार्यान्वयनका लागि अमेरिकी संसद कंग्रेसबाट पारित हुनुपर्छ । रिपब्लिकन पार्टीका सिनेटर लिड्से ग्राहमले योजनालाई अनावश्यक रूपमा महँगो भनेर आलोचना गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया