Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले गुगल र अमेजनलाई करको दायरामा ल्यायो

बंगलादेशले गुगल र अमेजनलाई करको दायरामा ल्यायो


ढाका ।
विश्वका दुई चर्चित प्रविधि कम्पनीहरु बंगलादेशको करको दायरामा आएका छन् । चर्चित कम्पनीहरु गुगल र अमेजन राजस्व प्राधिकरणमा मूल्यअभिवृद्धि करमा दर्ता भएका हुन् ।

द डेलिस्टार अनलाइनका अनुसार विदेशी प्रविधि कम्पनीलाई करको दायरामा ल्याउनेबारे दुई वर्षदेखि कुरा मिलिरहेको थिएन । सन् २०१९ मा द न्याशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ल यी कम्पनीलाई कि बंगलादेशमै कार्यालय स्थापना गर्न कि भने विज्ञापन र अन्य सेवाबापत सरकारलाई कर तिर्न एजेन्ट नियुक्त गर्न विकल्प दिएको थियो ।

तर इन्टरनेट कम्पनीहरुले प्रतिनिधि कार्यालय स्थापना गर्न इन्कार गर्दै आएका थिए । यसबाहेक उनीहरु अप्रत्यक्ष कर वा मूल्यअभिवृद्धि कर (भ्याट) एनबीआरलाई एजेन्टमार्फत तिर्न वा बिक्रीसम्बन्धी ग्राहकको सूचना उपलब्ध गराउन अनिच्छुक देखिँदै आएका थिए ।

गत वर्षको सुरुमै एनबीआरले प्रविधि कम्पनीलाई कुनै कार्यालय नखोली सिधै भ्याटमा दर्ता हुन दिने निर्णय गरेको थियो । खासगरी उनीहरुलाई करको दायरामा ल्याउन यो सुविधा दिइएको थियो तर प्रगति भने निकै ढिलो गरी भएको हो ।

राजस्व अधिकारीहरुले ढिलाइका बाबजुद स्थानीय कम्पनी र व्यक्तिले यी कम्पनीलाई भुक्तानी गर्दा नै बैंकहरुले करको रकम काट्न सफल भइरहेका थिए । अब भने यी कम्पनीहरुले स्थानीय एजेन्टमार्फत भ्याट फिर्ता र डिपोजिट गर्नुपर्नेछ । यसबाट राम्रै भ्याट रकम संकलन हुने सरकारी अपेक्षा छ ।

सिंगापुरमा रहेको गुगल एसिया प्यासिफिक प्राइभेट र सिटलमा मुख्यालय रहेको अमेजन वेब सर्भिसेज इंकले गत हप्ता दर्ताका लागि हस्ताक्षर गरेका हुन् । पीडब्लुसी बंगलादेशले दुवै अमेरिकी कम्पनीको स्थानीय कन्सल्टेन्टको रुपमा काम गर्नेछ ।

कम्पनीहरुले गुगल, फेसबुक र अन्य डिजिटल प्लेटफर्ममा ठूलो मात्रामा विज्ञापन गर्नथालेपछि एनबीआरले ती कम्पनीलाई करको दायरामा ल्याउने प्रक्रिया थालेको थियो । औद्योगिक क्षेत्रभित्रबाट पनि सरकारले फेसबुक, युट्युब, गुगल र अन्य डिजिटल प्लेटफर्मबाट धेरै भ्याट रकम नपाएको बताउँदै आएका थिए ।

बैंकिङ च्यानलबाट भन्दा अन्य च्यानलबाट पैसा पठाउँदा यसो हुन गएको उनीहरुको भनाइ थियो । सरकारले अब अन्य कम्पनीहरु पनि भ्याटको दायरामा आउने विश्वास गरेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया