Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेल उत्पादन बढाउने ओपेकको निर्णय

कच्चा तेल उत्पादन बढाउने ओपेकको निर्णय


फ्रन्कफर्ट ।
तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । समाचार संस्था एपीका अनुसार कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो ।

ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मंगलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो । साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको बजारमा देखिएको मागका कारण तेल उत्पादन बढाउने निर्णय सही देखिएको बताए । उनले ऊर्जाको माग र आर्थिक गतिविधिको पुनरुद्धारमा अझै पनि क्षितिजमा कालो बादल देखिएको बताए ।

ओपेकले मेदेखि जुलाईका तीन महिनाको अवधिमा प्रति दिन २१ लाख ब्यारेल तेल उत्पादन गर्ने यसअघि नै जनाइसकेको थियो । अब ओपेकले जुनमा प्रति दिन तीन लाख ५० हजार ब्यारेल तथा जुलाईमा चार लाख ४० हजार ब्यारेल प्रति दिन थप उत्पादन गर्नेछ ।

साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल पुनः उत्पादन गर्नेतर्फ विचार गर्न थालेको छ । कोभिडका कारण विश्वभर तेलको माग घटेको भन्दै ओपेकको प्रमुख राष्ट्र साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्न राजी भएको थियो ।

ओपेकको प्रमुख सदस्य राष्ट्र साउदी अरेबिया र ओपेकको सदस्य नरहेको रसियाबीच तेल उत्पादनको कोटलाई लिएर केही वर्षदेखि विवाद उत्पन्न हुँदै आएको छ । हाल कोभिडको दोस्रो लहरबाट प्रभावित भारत समेतका मुलुकहरुका कारण तेलको खपतमा कमी आउने, विश्वव्यापी मागमा कमी आउने र तेलको मूल्यवृद्धि हुने आशंका छ ।

तेल उत्पादक राष्ट्रहरुले सन् २०२० मा कोभिडका कारण तेलको मूल्यलाई स्थायित्व दिन तेल उत्पादन कटौती गरेका थिए । अहिले परिस्थितिमा केही सुधार आएसँगै तेल उत्पादक राष्ट्रहरुले बिस्तारै तेलको उत्पादन बढाउनेतर्फ लागेका छन् ।

अहिले विश्व बजारमा तेलको मूल्यमा निधै सुधार आएको छ र मङ्गलबार मात्र दुई वर्षयताकै सबैभन्दा बढी मूल्य कायम भएको छ । संयुक्तराज्य अमेरिका, युरोप र एसियामा वर्षको मध्यदेखि ऊर्जाको माग बढ्दैछ । हवाई उडान थपिने भएकाले पर्यटकको आवागमन बढ्नेछ जसका कारण तेलको माग थपिने ओपेकको भनाई छ ।

मंगलबार अमेरिकी कच्चा तेलको मूल्य २ प्रतिशत वृद्धि भई ६७.७२ डलर प्रति ब्यारेल पुगेको थियो । ब्रेन्ट क्रुडको कारोबारमा पनि २.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७१.१७ डलर कायम भएको थियो । ब्रेन्ट क्रुडको मूल्य विगत दुई वर्षको अवधिमा यो सबैभन्दा बढी हो । अमेरिकी कच्चा तेलको मूल्य तीन वर्षयताकै सबैभन्दा बढी हो ।

बुधबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी बेन्चमार्क १६ सेन्टले वृद्धि भएर प्रति ब्यारेल ६७.८८ डलर कायम भएको छ भने ब्रेन्ट क्रुडको मूल्य १८ सेन्टले वृद्धि भई प्रति ब्यारेल ७०.४३ डलर पुगेको छ । तेलको मूल्यमा यस वर्षको सुरुदेखि हालसम्म ३० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया