Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा तेल भरिभराउ जहाज डुब्दा वातावरणीय दुर्घटनाको डर

श्रीलंकामा तेल भरिभराउ जहाज डुब्दा वातावरणीय दुर्घटनाको डर


कोलम्बो ।
श्रीलंकाली समुद्री तटमा एउटा तेल भरिभराउ कार्गो पानीजहाज डुबिरहेको छ । यसले वातावरणीय दुर्घटना निम्त्याउने चिन्ता बढेको एजेन्सीहरुले जनाएका छन् ।

बीबीसीका अनुसार सिंगापुरमा दर्ता भएको एक्स–प्रेस पर्ल नामक जहाज विगत दुई हप्तायता जलिरहेको थियो । यदि यो जहाज डुब्यो भने त्यसको इन्धन ट्यांकीमा रहेको सयौँ टन तेल समुद्रमा चुहावट हुनसक्नेछ ।

केही दिनयता श्रीलंकाली र भारतीय जलसेनाले आगो निभाउने प्रयास गरिरहेका थिए । उनीहरुले जहाजलाई भाँच्चिन र डुब्नबाट जोगाउने हरसम्भव प्रयास गरे । तर मनसुनी हुरीबतास र समुद्री अवस्थाले उक्त काम प्रभावकारी हुनसकेन । कोलम्बोको बन्दरगाह बाहिर यो दुर्घटना भएको हो ।

‘यो जहाज डुबिरहेको छ । यसलाई डुब्नुअघि नै गहिरो समुद्रमा तान्ने प्रयास जारी छ ता कि समुद्रमा यसले प्रदूषण नगरोस् तर जहाजको पछिल्लो भाग वहावमा डुबिसकेको छ’, श्रीलंकाली जलसेनाका प्रवक्ता क्याप्टेन इन्डिका सिल्भाले भनिन् । वातावरणविद् डा. अजन्था पेरेराले जहाज डुब्दा वातावरणीय अवस्था बिग्रिने बताइन् ।

‘खतरनाक वस्तुहरु, निट्रिक एसिड र सबै अन्य यी वस्तुहरु तथा जहाजमा रहेको तेलसँगै यो डुब्दा समुद्रको पिँधमा आधारभूत रुपमै यसले नष्ट गर्छ’, उनले भनिन् । डाइभरहरुलाई जहाज तान्नुअघि यसको अवस्था बुझ्न पठाएको भए राम्रो हुने उनको सुझाव थियो । ‘हाम्रो पानीमा अहिले वातावरणीय मुद्दाहरु रहिरहनेछन्’, उनले भनिन् । केही दिनयता नेगोम्बो सहरको नजिकै किनारमा तेल र जहाजका टुक्राहरु तैरिन थालेको देखिएका छन् ।

यता श्रीलंकाको मत्स्य मन्त्रालयले आकस्मिक कदमहरु चालिएको बताएको छ । उक्त क्षेत्रमा माछा मार्ने काममा पनि रोक लगाइएको छ । श्रीलंकाली अधिकारीहरुले जहाजमा आगलागी हुनुमा निट्रिक एसिड मुख्य कारण रहेको बताएका छन् । यसबारे क्रु मेम्बरलाई मे ११ यता सचेत रहन भनिएको थियो ।

उक्त जहाजले २५ टन एसिड बोकेको थियो । उक्त एसिड मल उत्पादन र विष्फोटक पदार्थ उत्पादनमा प्रयोग हुन्छ । यो जहाजको स्वामित्व रहेको कम्पनी एक्स–प्रेस शिपिङले क्रु मेम्बरलाई एसिड चुहावट हुनसक्ने चेताएको थियो । तर कतार र भारतले आगलागी अघि जहाजलाई छोड्न नदिएको बताइएको छ ।

दुई देशले अनुमति नदिएपछि श्रीलंकाले उक्त जहाजलाई आफ्नो जलक्षेत्रमा प्रवेश दिएको थियो । अधिकारीहरुले जहाजका क्याप्टेनविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । क्याप्टेनसहित क्रु मेम्बरलाई गत हप्ता उद्धार गरिएको थियो ।

श्रीलंकाली प्रहरीले मंगलबार क्याप्टेन र जहाजका इन्जिनियरहरुलाई १४ घण्टासम्म प्रश्न सोधेका थिए । एक अदालतले जहाजका क्याप्टेनसहितका व्यक्तिलाई देश नछोड्न आदेश दिएको छ । यो जहाज १८६ मिटर लामो छ । मे १५ मा भारतीय हजिरा बन्दरगाहबाट १४ सय ८६ कन्टेनर बोकेर हिँडेको थियो । त्यसमा निट्रिक एसिडसहितको धेरै अन्य केमिकल र कस्मेटिकको कार्गो रहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया